विराटनगर । लामो समयदेखि स्थानीयवासीले दैनिक रूपमा प्रयोग गर्दै आएको सडक निर्माण तथा स्तरोन्नति नभएको भन्दै विराटनगर महानगरपालिका–१२ मलङ्गवाका स्थानीयवासीले वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।
सडकको दुरावस्थाका कारण आवतजावतमा समस्या बढ्दै गएपछि आक्रोशित स्थानीयहरू सोमबार वडा कार्यालय पुगेका थिए। उनीहरूले वडा कार्यालयको मूल गेटमा ताला लगाउँदै तत्काल सडक मर्मत तथा कालोपत्रे प्रक्रियालाई अघि बढाउन माग गरेका थिए।

स्थानीय अनिल कामतका अनुसार वर्षायाम सुरु भएसँगै सडक हिलाम्मे बनेको छ। सडकमा हिलो जम्ने भएकाले पैदल यात्रु मात्र होइन, मोटरसाइकल तथा अन्य सवारीसाधन सञ्चालन गर्नसमेत कठिन भएको छ। यसले दैनिक जनजीवन प्रभावित बनेको उनको गुनासो छ।
कामतले भने, पाँच वर्षभन्दा बढी समयदेखि उक्त सडकमा सामान्य मर्मतसमेत नभएको छैन । “सडकमा गिटी र बालुवा नहाल्दा वर्षा लाग्नेबित्तिकै हिलाम्मे हुन्छ। हिँड्न र सवारी चलाउन निकै समस्या छ,” उनले भने। तालाबन्दीका कारण केही घण्टासम्म वडा कार्यालयको सेवा प्रवाह प्रभावित भएको थियो। सेवाग्राहीका कामकाज अवरुद्ध भएपछि प्रहरी प्रशासन, वडा जनप्रतिनिधि तथा आन्दोलनरत स्थानीयबीच छलफल भएको थियो।

छलफलका क्रममा वडा पक्षले दुई दिनभित्र सडकमा गिटी हालेर ग्राभेल गर्ने प्रतिबद्धता जनाएपछि स्थानीयले तालाबन्दी खुलाएका थिए। आश्वासनपछि आन्दोलन स्थगित गर्दै स्थानीय घर फर्किएका छन् ।
स्थानीयवासीले भने अब पनि प्रतिबद्धता अनुसार काम नभए थप कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका छन् । उनीहरूले वर्षौंदेखि उपेक्षित रहेको सडकको दीर्घकालीन समाधानका लागि शीघ्र कालोपत्रे गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।