कोशी अस्पतालमा चिकित्सक ढिलो आउँदा बिरामी सास्तीमा, घण्टौँ लाइनमा कुर्न बाध्य

<span class='c1'>कोशी अस्पतालमा चिकित्सक ढिलो आउँदा बिरामी</span> <span class='c2'>सास्तीमा, घण्टौँ लाइनमा कुर्न बाध्य</span>

सोनु साह
विराटनगर । विराटनगरस्थित कोशी अस्पताल मा चिकित्सक समयमै उपस्थित नहुने समस्या पुनः दोहोरिएको भन्दै बिरामीहरूले गुनासो गरेका छन्। मंगलबार बिहान ११ बज्दासम्म पनि केही चिकित्सक आफ्नो कार्यकक्षमा उपस्थित नभएको भन्दै उपचारका लागि आएका बिरामीहरू घण्टौँसम्म लाइनमा बस्न बाध्य भएका हुन्।


बिरामीहरूको अनुसार अस्पतालमा बिहान ९ बजेदेखि सेवा सुरु हुनुपर्ने भए पनि चिकित्सक ढिलो आउँदा उपचार प्रक्रिया प्रभावित हुने गरेको छ। विशेषगरी स्वास्थ्य बिमा सेवा निजी अस्पतालमा बन्द भएपछि कोशी अस्पतालमा बिरामीको चाप उल्लेख्य रूपमा बढेको छ। तर सेवाको व्यवस्थापन र जनशक्तिको प्रभावकारी परिचालन नहुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको गुनासो गरेका छन्। सप्तरीबाट उपचारका लागि आएका प्रभास गुप्ताले एउटा टोकन काट्नसमेत घण्टौँ लाइनमा बस्नुपरेको बताए। “एउटै काम गर्न दुईदेखि तीन घण्टासम्म लाग्यो। टोकन लिएर डाक्टरको क्याबिनमा पुग्दा चिकित्सक नै नआएको देखेपछि निकै निराश भएँ,” उनले भने। सरकारी निकायको प्रभावकारी अनुगमन नहुँदा यस्ता समस्या दैनिक दोहोरिने गरेको उनको भनाइ छ।

त्यस्तै विराटनगरका कैलाश श्रेष्ठले बिहान ९ बजे अस्पताल पुगे पनि दुई घण्टाभन्दा बढी समयसम्म पालो नआएको गुनासो गरे। “बिहानै आए पनि पालो पाउन निकै ढिलो भयो। कर्मचारी र चिकित्सक दुवै पक्षबाट लापरवाही देखिएको छ,” उनले बताए।
पहिलो पटक कोशी अस्पतालमा उपचारका लागि आएका सुजन रौनियारले अस्पतालको व्यवस्थापन कमजोर रहेको टिप्पणी गरे। “न पार्किङको उचित व्यवस्था छ, न चिकित्सक समयमै आउँछन्। बिहानदेखि बिरामीको भीड उस्तै छ। अस्पताल मानिसहरू रहरले होइन, बाध्यताले आउँछन्। तर यहाँको सेवा र व्यवस्थापन सन्तोषजनक देखिएन,” उनले भने।

कोशी अस्पतालमा चिकित्सक समयमै नआउने गुनासो नयाँ भने होइन। विगतदेखि नै यस्ता गुनासा आउने गरेका छन्। स्रोतका अनुसार केही चिकित्सकले सरकारी अस्पताल र निजी क्लिनिक दुवैतर्फ सेवा दिँदा सरकारी अस्पतालको सेवा प्रभावित हुने गरेको आरोप पनि लाग्दै आएको छ।

बिरामीहरूले अस्पताल प्रशासनलाई समस्या जानकारी गराउँदा पनि प्रभावकारी सुधार नभएको बताएका छन्। नियमित अनुगमन र आवश्यक कारबाहीको अभावमा चिकित्सकहरू मनपरी ढंगले काम गरिरहेको आरोप बिरामीहरूको छ।

बढ्दो बिरामी चापसँगै सेवा व्यवस्थापन, चिकित्सकको नियमित उपस्थिती र अस्पताल प्रशासनको जवाफदेहितामाथि प्रश्न उठ्न थालेको छ। सर्वसाधारणले कोशी अस्पतालमा तत्काल सुधारात्मक कदम चाल्न सम्बन्धित निकायसँग माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्