विराटनगर । विराटनगर–२ मा रहेको बुढानीलकण्ठ स्कुलले माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा ४ जिपिए ल्याउने तीन जना विद्यार्थीहरूलाई नगदसहित सम्मान गरेको छ । मंगलबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच उनीहरूलाई सम्मान गरेको हो ।

एसईईमा उत्कृष्ट नतिजासहित ४ जिपिए ल्याउने विद्यार्थीहरू सरस अधिकारी, आयुष ढुंगाना र आयुषा ढुंगानालाई विद्यालयले जनही १० हजार रुपैयाँ नगद, कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरेको छ । उनीहरूलाई स्कुलका प्रिन्सिपल मणिराज भट्टराई, अध्यक्ष बुद्धि प्रधान र निर्देशक सन्देश सुवेदीले सम्मान गरेको थियो ।

कार्यक्रममा बोल्दै प्रिन्सिपल भट्टराईले मेहनत गर्दा सफलता मिल्ने भएकाले विद्यार्थीहरू लगनशील हुनुपर्नेमा जोड दिए । उनले भने, ‘मेहनत गर्दा सफलता मिल्छ, त्यसैले विद्यार्थी भाइबहिनीहरू लगनशील हुन जरुरी छ । उत्कृष्ट नतिजा ल्याएर उत्तीर्ण हुने विद्यार्थीहरूलाई म आगामी शैक्षिक यात्राको शुभकामना व्यक्त गर्दछु ।’
त्यसैगरी, कार्यक्रमको समापन गर्दै विद्यालयका अध्यक्ष बुद्धि प्रधानले आगामी दिनमा पनि अझ बढी मेहनतका साथ अध्ययन गर्न विद्यार्थीहरूलाई आग्रह गरे । यस वर्ष बुढानीलकण्ठ स्कुलबाट कुल १०० जना विद्यार्थीहरूले एसईई परीक्षा दिएका थिए । जसमा तीन जनाले ४ जिपिए प्राप्त गरेका छन् भने विद्यालयको नतिजा शतप्रतिशत रहेको छ ।
