विराटनगर । विराटनगरको रंगेली रोडमा सञ्चालित मेरिल्याण्ड कलेजले आफ्ना तीन जना पूर्व विद्यार्थीलाई सम्मान गरेको छ । बिहीबार बिहान कलेजले कक्षा ११ का विद्यार्थीहरुलाई आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा विभिन्न क्षेत्रमा सफलता हासिल गरेका पूर्व विद्यार्थी विवेक दाहाल, अनमोल भट्टराई र पंकज जैनलाई सम्मान गरिएको हो ।

सम्मानित विद्यार्थीहरुलाई कलेजका अध्यक्ष गुणराज ढुंगेल, प्रिन्सिपल लक्ष्मण ढकाल लगायतले खादा तथा मायाको चिनो प्रदान गर्दै बधाई दिएका थिए । कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष ढुंगेलले मेरिल्याण्डबाट अध्ययन गरेर विभिन्न क्षेत्रमा सफल भएका विद्यार्थीहरुले कलेजको पहिचान अझ उचो बनाएको बताए । उनले आगामी दिनमा पनि विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै सक्षम जनशक्ति उत्पादनमा कलेज प्रतिबद्ध रहने उल्लेख गरे ।
त्यसैगरी प्रिन्सिपल लक्ष्मण ढकालले पूर्व विद्यार्थीहरुको सफलता अहिले अध्ययनरत विद्यार्थीका लागि प्रेरणाको स्रोत बनेको बताए । उनले मेहनत, अनुशासन र सकारात्मक सोचका साथ अघि बढे सफलता हासिल गर्न सकिने धारणा राखे ।

सम्मानित पूर्व विद्यार्थी विवेक दाहालले कलेजले गरेको सम्मानप्रति धन्यवाद व्यक्त गर्दै आफूहरुले आजको स्थान हासिल गर्न मेरिल्याण्ड कलेजको महत्वपूर्ण योगदान रहेको बताए । “कलेजले पढाइसँगै अनुशासन, आत्मविश्वास र नेतृत्व विकास गर्ने वातावरण दिएको थियो, जसले जीवनमा अघि बढ्न धेरै मद्दत पुग्यो,” उनले भने । दाहालले भर्खरै कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई सामाजिक संजालमा धेरै समय खेर नफाल्न आग्रह गर्दै २ बर्ष सम्म पढाईमा विशेष ध्यान दिन पनि उनले आग्रह गरे । कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुले सास्कृतिक कार्यक्रमको आयोजना गरि कार्यक्रममा सहभागि शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको भरपुर मनोरञ्जन प्रदान गरे ।