विराटनगर । सामाजिक क्षेत्रमा सक्रिय एलायन्स युवा क्लबले महिला खेलकुद तथा सांस्कृतिक महोत्सव २०८३ आयोजना गर्ने भएको छ ।
महिला सशक्तीकरण, स्वास्थ्य प्रवद्र्धन तथा नेपाली कला–संस्कृतिको संरक्षण र विकासलाई मध्यनजर गर्दै महोत्सव आयोजना गर्न लागिएको क्लबले जनाएको छ ।

क्लबले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै असार १३ गते शनिबार बिहान ७ बजे विराटनगर स्थित जनपथ स्कुलमा महोत्सव आयोजना हुने जानकारी दिएको हो ।
क्लबका अध्यक्ष विपुल चौधरीका अनुसार महोत्सवमा धार्मिक तथा सांस्कृतिक कार्यक्रमसँगै विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गरिनेछ । कार्यक्रममा म्युजिकल चियर, बल पास, ब्याडमिन्टन, चम्चा दौड, बेलुन फोड्ने, नृत्य प्रतियोगिता, र्याम्प वर्क तथा नाटक प्रतियोगिता समावेश गरिएका छन् ।

आयोजकका अनुसार एक सहभागीले चारवटा खेलमा सहभागिता जनाउन सक्नेछन् । प्रतियोगिताका लागि सहभागिता शुल्क २० रुपैयाँ तोकिएको छ । कार्यक्रममा करिब २ सय जना सहभागी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।