विराटनगर । सरकारले हालै गरेको विभेदकारी निर्णय खारेज गर्न माग गर्दै नेपाल पत्रकार महासंघ मोरङको अगुवाईमा जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएका छन् ।
बुधबार दिउसो जिल्ला प्रशासन कार्यलय मोरङको गेट अगाडी उपस्थित भएका पत्रकारहरुले करिब आधा घन्टा जति धर्ना दिएका थिए । धर्ना कार्यक्रममा मोरङ जिल्ला र पत्रकार महासंघ कोशी प्रदेशका पत्रकारहरुको पनि सहभागिता रहेको थियो । कालो व्यानर सहित पत्रकारहरुको हकहित, प्रेस स्वतन्त्रता तथा सञ्चार क्षेत्रमाथि असर पर्ने निर्णय फिर्ता लिन माग गर्दै आयोजित धर्नामा सञ्चारकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरुले सरकारको निर्णय प्रेसमैत्री नभएको भन्दै तत्काल सच्याउन आग्रह गरेका छन् ।