सोनु साह
विराटनगर । विराटनगरको तीनपैनीदेखि पुष्पलाल चोकसम्मको सडक जीर्ण बन्दै गएपछि स्थानीयवासी आन्दोलित भएका छन्। खाल्डाखुल्डीले भरिएको उक्त सडकमा दैनिक आवतजावत गर्न सवारीसाधनलाई निकै कठिनाइ हुने गरेको छ भने दुर्घटनाको जोखिमसमेत बढ्दै गएको स्थानीयको गुनासो छ।
विराटनगर वडा नं. १ र वडा नं. ३ मा पर्ने उक्त सडक महानगरपालिकाको क्षेत्राधिकारभित्र पर्छ। महानगरपालिकाले आर्थिक वर्ष २०८१ को अन्त्यतिर सडक मर्मत गरेको भए पनि केही वर्ष नबित्दै सडक पुनः जीर्ण बनेको भन्दै स्थानीयले निर्माण कार्यको गुणस्तरमाथि प्रश्न उठाएका छन्। स्थानीयका अनुसार सडक मर्मतमा अनियमितता भएको हुन सक्ने आशंका समेत गरिएको छ।



सडकको दयनीय अवस्थाको विरोधमा वडा नं. १ र ३ का स्थानीयवासीले बिहीबार ल क्याम्पस अगाडिको सडकमा ढाट लगाएर केही समय सडक अवरुद्ध गरेका थिए। स्थानीय डम्बर दाहालले पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि समस्या समाधानका लागि कुनै पहल नभएको बताए।
“हामीलाई राजनीतिक आश्वासन होइन, सुरक्षित सडक चाहिएको हो। पटक–पटक आग्रह गर्दा पनि कसैले सुनेन। बाध्य भएर सडक अवरुद्ध गर्नुपरेको हो,” उनले भने। उनका अनुसार सडकको अवस्थाका कारण दैनिक दुईदेखि चार वटासम्म साना–ठूला दुर्घटना हुने गरेका छन्। स्थानीयले सडक बिग्रिनुको प्रमुख कारण ओभरलोड सवारीसाधन रहेको बताएका छन्। विशेषगरी बालुवा, गिट्टी तथा निर्माण सामग्री बोकेका टिपरहरू दैनिक रूपमा अत्यधिक भार लिएर गुड्ने गरेकाले सडक चाँडै बिग्रिएको उनीहरूको भनाइ छ। ओभरलोड सवारीसाधन नियन्त्रणमा सरकारी निकाय तथा ट्राफिक प्रहरीको समेत प्रभावकारी भूमिका नदेखिएको स्थानीयको आरोप छ।
स्थानीयवासीका अनुसार सडक मर्मतको माग गर्दै उनीहरूले केही दिनअघि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला तथा उपप्रमुख शिल्पा निराला कार्कीसँग भेटघाट गरी प्रत्यक्ष रूपमा ध्यानाकर्षण गराएका थिए। सो क्रममा स्थानीय र नगर प्रमुखबीच चर्काचर्कीसमेत भएको बताइएको छ।
नगर प्रमुख कोइरालाले निर्माण सामग्रीको मूल्य उल्लेख्य रूपमा बढेकाले ठेक्केदारहरूले पुरानै दररेटमा काम गर्न नमानेको र त्यसकै कारण सडक मर्मत कार्य अघि बढाउन समस्या भएको जानकारी दिएका थिए। उनका अनुसार निर्माण लागत दोब्बरजस्तै बढेकाले तत्काल काम सञ्चालन गर्न चुनौती देखिएको छ।



सडक अवरुद्ध भएपछि जिल्ला प्रहरी कार्यालय मोरङ र स्थानीय प्रहरी प्रशासनले आन्दोलनरत स्थानीयसँग छलफल गरी सडक खुलाउन आग्रह गरेको थियो। प्रहरीको अनुरोधपछि स्थानीयले अवरोध हटाएका छन् र हाल सडकमा यातायात सञ्चालन सामान्य बनेको छ।
यद्यपि, सडकको अवस्था भने यथावत् रहेको स्थानीयको भनाइ छ। दैनिक सयौं पटक बालुवा, गिट्टी तथा अन्य निर्माण सामग्री बोकेका टिपर यही सडक प्रयोग गर्ने भएकाले सडक थप जीर्ण बन्दै गएको उनीहरू बताउँछन्। स्थानीयले सडकको दिगो मर्मत तथा ओभरलोड सवारीसाधन नियन्त्रणका लागि सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन्।