विराटनगर । मोरङको जहदा गाउँपालिका–७ स्थित महादेवकोल क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा सञ्चालन गरिएको अपरेसनमा एक वानटन पिकअप गाडी र भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित ९२२.२ किलोग्राम गाँजा बरामद गरिएको हो।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय सोराभागअन्तर्गत बीओपी नोचा र बीओपी तारेगामाबाट खटिएको संयुक्त टोलीले बुधबार राति करिब १२ः१५ बजे लक्ष्मनियाबाट तारेगामातर्फ जाँदै गरेको को १ ख ७०२२ नम्बरको वानटन पिकअप गाडीलाई निगरानी गरेको थियो।

प्रहरीका अनुसार उक्त गाडीलाई विआर 38 जेड 7452 नम्बरको भारतीय मोटरसाइकलले स्कर्टिङ गरिरहेको अवस्थामा टोलीले पछ्याएको थियो। प्रहरीको उपस्थिती महसुस गरेपछि पिकअप गाडी र मोटरसाइकलका चालकहरू दुवै सवारीसाधन छाडेर फरार भएका थिए।
त्यसपछि सशस्त्र प्रहरी टोलीले नियन्त्रणमा लिएको पिकअप गाडीको जाँच गर्दा धानको भुसको बोराले छोपेर राखिएको अवस्थामा प्रतिबन्धित लागूऔषध गाँजा फेला परेको थियो।
बरामद गाडीलाई सीमा सुरक्षा गुल्म मुख्यालय सोराभागमा ल्याई विस्तृत जाँच गर्दा २९ वटा पोकामा प्याक गरिएको कुल ९२२.२ किलोग्राम गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गाँजा, पिकअप गाडी तथा मोटरसाइकल आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरी बलले जनाएको छ। प्रहरीले फरार व्यक्तिहरूको खोजी कार्यसमेत तीव्र बनाएको छ।