विराटनगर । कोशी प्रदेशमा आउने स्वदेशी तथा विदेशी पर्यटकहरूको सुरक्षा, संरक्षण र सहजीकरणलाई प्रभावकारी बनाउने उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले सात कार्यदिने ‘पर्यटक प्रहरी अनुशिक्षण’ तालिम सञ्चालन गरेको छ।


तालिमको उद्घाटन सोमबार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपरीक्षक थापाले नेपाल प्राकृतिक, सांस्कृतिक तथा धार्मिक विविधताले सम्पन्न मुलुक भएकाले यहाँ भ्रमणका लागि आउने स्वदेशी तथा विदेशी पर्यटकहरूको सुरक्षा, संरक्षण र सहज यात्राका लागि पर्यटक प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताए।
उनले पर्यटकप्रति मैत्रीपूर्ण व्यवहार, आवश्यक सहजीकरण तथा व्यावसायिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन प्रहरी कर्मचारीलाई आधारभूत ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले उक्त तालिम सञ्चालन गरिएको जानकारी दिए।
तालिममार्फत सहभागी प्रहरी कर्मचारीहरूलाई पर्यटकमैत्री सेवा, पर्यटकसँगको व्यवहार, पर्यटन क्षेत्रको सुरक्षा व्यवस्थापन तथा आपत्कालीन अवस्थाको व्यवस्थापन सम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिने जनाइएको छ। कोशी प्रदेशका विभिन्न जिल्लामा पर्यटन गतिविधि विस्तार हुँदै गएको सन्दर्भमा पर्यटकको सुरक्षित र सुखद् बसाइ सुनिश्चित गर्न तालिमले महत्वपूर्ण योगदान पुर्याउने विश्वास प्रहरी कार्यालयले व्यक्त गरेको छ।