विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेलाई २०८३ साल जेठ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ।
विभागीय मूल्य–मान्यता, आदेश तथा निर्देशनको पालना गर्दै उच्च मनोबल, व्यावसायिकता र जिम्मेवारीका साथ पदीय कर्तव्य निर्वाह गरेको मूल्याङ्कनका आधारमा न्यौपानेलाई उक्त सम्मान प्रदान गरिएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको प्रमुखको रूपमा कार्यरत रहँदा उनले सवारी दुर्घटना न्यूनीकरणका लागि चालक तथा सहचालकहरूको विस्तृत स्वास्थ्य परीक्षण, लागूऔषध सेवन (ला.प.से.) तथा मादक पदार्थ सेवन (मा.प.से.) चेकजाँच अभियान सञ्चालन गरी नियम उल्लंघन गर्ने चालक तथा सहचालकलाई कारबाहीको दायरामा ल्याएका थिए।
यस्तै, सिटी सफारीलाई सुरक्षित, अनुशासित र मर्यादित बनाउन ‘सुरक्षित चालक’ अभियानको सुरुवात गरेका थिए। कार्यालयमा सेवा लिन आउने नागरिकका लागि प्रतीक्षालय निर्माण गर्नुका साथै ट्राफिक तथा पार्किङ व्यवस्थापनलाई प्रभावकारी बनाउन सरोकारवाला निकायसँग समन्वय गरी ह्विल लक, चेन लक, नो–पार्किङ बोर्ड, ट्राफिक कोन, ब्यारेकेडर तथा रिफ्लेक्टिभ ज्याकेटको प्रयोग बढाएका थिए।
प्रहरी निरीक्षक न्यौपानेले समुदायस्तरमा निरन्तर ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै जेन्जी आन्दोलनका क्रममा क्षति पुगेका ट्राफिक लाइट तथा सौर्य चेतावनी बत्ती पुनः जडान गरी सवारी आवागमन व्यवस्थापनलाई सहज बनाउने कार्यमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
सवारी आवागमन व्यवस्थापन, ट्राफिक अनुशासन कायम तथा जनसेवामुखी कार्यसम्पादनमा पुर्याएको उल्लेखनीय योगदानको उच्च मूल्याङ्कन गर्दै कोशी प्रदेश प्रहरी कार्यालयले उनलाई २०८३ साल जेठ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको जनाएको छ।