चाकडीको राजनीति मोउलाउदै

<span class='c1'>चाकडीको राजनीति</span> <span class='c2'>मोउलाउदै</span>

राजनीतिमा कोही कसैको हुँदैन "ढुक्क हुनुहोश" । आज जसको वरिपरि भीड देखिन्छ, भोलि उसैलाई एक्लै हिँड्नुपर्ने अवस्था आउन सक्छ। त्यसैले व्यक्तिको पछि कुद्ने होइन, विचारको पछि उभिने बानी बसाल्नुपर्छ।

म स्पष्ट रूपमा भन्छु राजनीति पहुँचको खेल होइन, जनविश्वासको परीक्षा हो। नेताको ढोका ढकढक्याउँदै, शक्तिकेन्द्रको वरिपरि घुम्दै र कसैको कृपाको भरमा प्राप्त गरिएको पदले राजनीतिक उचाइ त दिन सक्छ, तर सम्मान दिन सक्दैन। सम्मान जनताले दिन्छन्, शक्ति जनताले दिन्छन् र अन्तिम फैसला पनि जनताले नै गर्छन्।

दुर्भाग्य, आज धेरैले राजनीतिलाई समाजसेवाको माध्यम होइन, पद प्राप्त गर्ने सर्टकट बाटो बनाएका छन्। सिद्धान्तभन्दा स्वार्थ ठूलो भएको छ। विचारभन्दा अवसर ठूलो भएको छ। संघर्षभन्दा पहुँच ठूलो भएको छ। यही मानसिकताले राजनीति कमजोर भएको हो।

राजनीति गर्ने मान्छेले सबैभन्दा पहिले आफूलाई सोध्नुपर्छ म समाजलाई के दिन सक्छु? म जनताको जीवनमा के परिवर्तन ल्याउन सक्छु? मसँग नेतृत्व गर्ने नैतिक बल छ कि छैन? यदि यी प्रश्नको जवाफ छैन भने पदको आकांक्षा राख्नु केवल आत्मप्रवञ्चन हो।

पद मागेर पाइन्छ, तर जनविश्वास मागेर पाइँदैन। जनविश्वास कमाउनुपर्छ। वर्षौंको संघर्ष, इमानदारी, निरन्तरता र जनताको पक्षमा उभिने साहसले मात्र जनविश्वास निर्माण हुन्छ।

आज बालेन शाह, हर्क साम्पाङ, गोपाल हमाल वा रवि लामिछानेको चर्चा हुन्छ भने त्यो कसैको कृपाले होइन। उनीहरूलाई जनताले बनाएका हुन्। जनताको आशा, अपेक्षा र विश्वासले त्यो स्थान दिएको हो। उनीहरू पूर्ण छन् भन्ने होइन, तर उनीहरूले जनताको मन जित्न सके। राजनीति त्यही हो जनताको मन जित्ने कला र क्षमता।

समय कसको कहिले आउँछ भन्ने कसैले भन्न सक्दैन। तर समय नआउँदै आफ्नो सिद्धान्त बेच्ने, अवसरका लागि निष्ठा बदल्ने, पदका लागि आत्मसम्मान गिरवी राख्ने कुन पार्टीमा छिरे सजिलै जित्न सकिन्छ भनेर साम,दाम दन्ड्भेद प्रयोग गर्नु र शक्तिको आडमा उक्लिन खोज्नेहरू इतिहासको फुटनोटभन्दा माथि उठ्न सक्दैनन्।

राजनीतिमा सबैभन्दा ठूलो हार निर्वाचन हार्नु होइन। आफ्नो चरित्र हार्नु हो। आफ्नो विचार बेच्नु हो। आफ्नो संस्कार गुमाउनु हो। चुनाव हारेर पनि मानिस सम्मानित रहन सक्छ, तर आत्मसम्मान गुमाएपछि कुनै पदले पनि सम्मान फर्काउन सक्दैन।

आजको राजनीति हेर्दा धेरै मानिसहरू जनताको बीचभन्दा शक्तिशाली व्यक्तिको वरिपरि बढी देखिन्छन्। उनीहरू समाज परिवर्तनको भाषण त गर्छन्, तर जनताको विश्वास जित्ने संघर्ष गर्न चाहँदैनन्। पहुँचको भरमा राजनीति गर्न खोज्नेहरू क्षणिक रूपमा अगाडि देखिए पनि इतिहासले उनीहरूलाई चिन्न सक्दैन।

राजनीति भनेको कसको नजिक पुगियो भन्ने होइन, कति जनाको मन जितियो भन्ने हो। राजनीति भनेको नेताको फोटोमा देखिनु होइन, जनताको समस्यामा उभिनु हो। राजनीति भनेको पदको खोजी होइन, जनविश्वासको कमाइ हो।

कसैको वरिपरि घुमेर नेता बन्ने सपना देख्नेहरूले एउटा कुरा बुझ्नुपर्छ नेताको पछि लागेर कार्यकर्ता बन्न सकिन्छ, तर जनताको बीचमा गएर मात्र नेता बन्न सकिन्छ। राजनीतिक जीवनको वास्तविक परीक्षा नेताको कार्यालयमा होइन, जनताको आँगनमा हुन्छ।

त्यसैले म फेरि भन्छु पदका लागि मरिहत्ते नगरौं। पहुँचका लागि आत्मसम्मान नबेचौं। अवसरका लागि विचार नत्यागौं। र शक्तिका लागि राजनीतिक संस्कारको हत्या नगरौं।

राजनीति भनेको कुर्सीको लडाइँ होइन, विश्वासको यात्रा हो। राजनीति भनेको पदको व्यापार होइन, जिम्मेवारीको वहन हो। राजनीति भनेको चाकडी होइन, जनताको पक्षमा निर्भीक उभिने साहस हो।

आज होइन भने भोलि, जनताले सबै देखिरहेका छन्। इतिहासले पनि सबै हिसाब राखिरहेको छ। क्षणिक लाभका लागि सिद्धान्त बेच्नेहरू केही समय चम्किन सक्छन्, तर टिक्न सक्दैनन्। टिक्नेहरू तिनै हुन् जसले विचार, निष्ठा र राजनीतिक संस्कारलाई अन्तिम साससम्म जोगाएर राख्छन्।

यी मेरा व्यक्तिगत विचार मात्र हुन्। असहमत हुने अधिकार सबैलाई छ, र म सबै विचारको सम्मान गर्दछु।

हरि ।ॐ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्