प्रेम देवान
विराटनगर । पछिल्लो समय विराटनगरमा चोरीका घटनामा उल्लेख्य वृद्धि भएको छ। दिनहुँजसो चोरीका घटना सार्वजनिक हुन थालेपछि सर्वसाधारण नागरिक त्रसित बन्न पुगेका छन् । चोरहरूले पनि नयाँ–नयाँ तरिका अपनाउन थालेका छन्। कतै भर्याङ प्रयोग गरेर घरभित्र प्रवेश गर्ने, त कतै झ्यालबाट लठ्ठी छिराएर मोबाइल तथा अन्य सामग्री चोरी गर्ने गरेको पाइएको छ । केही दिनअघि मात्रै विराटनगर–४ जामुनगाछीस्थित जमुना तामाङको तीनतले घरमा चोरी भएको थियो। चोरहरूले रातिको समयमा दोस्रो र तेस्रो तलासम्म पुगेर झ्यालबाट लठ्ठी छिराई दुईवटा मोबाइल चोरी गरेको पीडितले गंगा तामाङले बताईन् ।
यस्तै, सोही क्षेत्रमा बुधबार बिहान सडकमा जडान गरिएको सोलार बत्तीको ब्याट्री चोरी भएको छ। स्थानीयका अनुसार चोरहरूले बाँसको भर्याङ प्रयोग गरी विद्युत पोलमा जडान गरिएको सोलार बत्तीको ब्याट्री निकाल्ने प्रयास गरेका थिए। स्थानीयले थाहा पाएपछि उनीहरूलाई समात्न खोजिए पनि चोरहरू भर्याङ र ब्याट्री छाडेर फरार भएका थिए ।
स्थानीयवासी उद्धज घिमिरेका अनुसार उक्त क्षेत्रमा घरैपिच्छे चोरीका घटना भइरहेका छन्। कहिले ग्यास सिलिन्डर, कहिले मोबाइल, त कहिले घरबाहिर राखिएका जुत्ता–चप्पलसमेत चोरी भएको घिमिरे बताए । लगातार चोरीका घटना बढेपछि स्थानीयले प्रहरी प्रशासनले नियमित गस्ती बढाउनुपर्ने र वडा कार्यालयहरूले सार्वजनिक स्थानमा सीसीटीभी क्यामेरा जडान गर्नुपर्ने विराटनगर ४ जामुनगाछी निवासी तथा कान्तिपुर कलेज विराटनगरका प्रिन्सीपल भुवन नेपाल माग गरे । उता, विराटनगर–१२ मा पनि सडकमा जडान गरिएका सोलार बत्तीका ब्याट्री चोरी भएका छन्। बखरीदेखि दक्षिण दरैयाबस्तीसम्मको सडकमा जडान गरिएका ३९ वटा बत्ती मध्ये २३ वटा सोलार बत्तीका ब्याट्री चोरी भएको वडा सदस्य कुशेश्वर राजवंशीले जानकारी दिए । तर उनीहरु मोरङ प्रहरीको नियन्त्रणमा रहेका छन् ।
चोरीका घटनाले सर्वसाधारणलाई हैरान बनाइरहे पनि प्रहरीले चोरीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कारबाही गरिरहेको जनाएको छ। मोरङ प्रहरीले चोरी भएका तथा हराएका मोबाइल र मोटरसाइकलसमेत सम्बन्धित धनीलाई फिर्ता बुझाउँदै आएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार आर्थिक वर्ष २०८२ ÷८३ मा जिल्लाभर १९५ वटा चोरीका मुद्दा दर्ता भएका छन्। ती घटनामा संलग्न २६२ जनालाई पक्राउ गरी कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको छ।
त्यसैगरी, २०८३ सालको वैशाख र जेठ महिनामा मात्रै विराटनगर क्षेत्रमा ५० वटा चोरीका मुद्दा दर्ता भएका छन्। ती घटनामा संलग्न ७४ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चोरीका अधिकांश घटनामा लागुऔषध प्रयोगकर्ताहरूको संलग्नता देखिएको छ। चोरी नियन्त्रणका लागि मोरङ प्रहरीले प्रहरी निरीक्षक अभिषेक श्रेष्ठको संयोजकत्वमा विशेष टास्क फोर्ससमेत गठन गरेको छ । प्रहरीको अनुसन्धानले बेरोजगारी, गलत संगत, लागुऔषध दुव्र्यसन तथा अवसरको उपलब्धता चोरीका मुख्य कारणका रूपमा देखाएको छ। साथै, नागरिक स्वयंको असावधानीले पनि चोरीका घटनालाई बढावा दिएको प्रहरीको निष्कर्ष छ ।
मोरङ प्रहरीले सर्वसाधारणलाई घर खाली छ भन्ने सूचना सामाजिक सञ्जालमा सार्वजनिक नगर्न, अपरिचित व्यक्तिमाथि निगरानी राख्न, घरमा सुरक्षा व्यवस्था मजबुत बनाउन र शंकास्पद गतिविधि देखिए तुरुन्त प्रहरीलाई खबर गर्न आग्रह गरेको छ । प्रहरीले नियमित रूपमा सीआरभी भ्यान, क्यूआरटी टोली, सादा पोसाकका प्रहरी तथा अन्य सुरक्षा संयन्त्र परिचालन गर्न विराटनगरवासीले माग राखेका छन् । अन्ततः चोरी हुन नदिन पहिलो जिम्मेवारी नागरिककै हुन्छ । आफ्नो सुरक्षा व्यवस्थाप्रति सजग र सतर्क बन्न सके चोरीका धेरै घटना रोक्न सकिन्छ । त्यसका लागि तपाई आफु कहाँ गएको र कतिदिनका लागि गएको भनेर सामाजिक संजालमा आफ्नो गोप्य सुचना राख्न आजैबाट बन्द गर्नुहोस । त्यसैले आजैबाट सावधानी अपनाऔं, आफू पनि सुरक्षित बनौं र समाजलाई पनि सुरक्षित बनाऔं।