सोनु साह
विराटनगर । विराटनगर महानगरपालिका लगायत तराईका विभिन्न क्षेत्रमा पछिल्लो समय चोरीका घटना बढ्दै गएका छन्। दैनिकजसो चोरीका घटना सार्वजनिक हुन थालेपछि स्थानीय बासिन्दा मात्र नभई सर्वसाधारण यात्रुसमेत असुरक्षित महसुस गर्न थालेका छन्।
पहिले अधिकांश चोरीका घटना रातिको समयमा हुने गरे पनि अहिले दिनदहाडै घरमा प्रवेश गरेर चोरी गर्ने प्रवृत्ति बढेको स्थानीयहरूको भनाइ छ। विराटनगर क्षेत्रमा सुन, मोबाइल, साइकल, मोटरसाइकल, बसका पार्टपुर्जा, खसीबाख्रा, सोलार ब्याट्री, ट्रान्सफर्मरमा जडान गरिएका तार तथा अन्य सामग्री चोरी हुने क्रम बढेको छ। घरभित्रका सामानदेखि सामुदायिक विद्यालयमा जडान गरिएका धाराका कल, मोटर र पंखासम्म चोरी हुन थालेपछि नागरिकमा त्रास बढेको छ।
प्रहरीका अनुसार अधिकांश चोरीका घटनामा लागुऔषध प्रयोगकर्ताहरूको संलग्नता देखिएको छ। लागुऔषधको कुलतमा फसेका युवाहरूले सेवनका लागि आवश्यक रकम जुटाउन चोरी गर्ने गरेको प्रहरीको निष्कर्ष छ।
भारतसँगको खुला सीमाका कारण लागुऔषध ओसारपसार र सेवनको समस्या झनै जटिल बनेको स्थानीयहरूको भनाइ छ। सीमावर्ती क्षेत्र हुँदै लागुऔषध सेवनका लागि भारत पुग्ने र विभिन्न बाटो प्रयोग गरेर फर्किने क्रम जारी रहेको बताइन्छ। पछिल्ला दिनमा सडक तथा सार्वजनिक स्थानमा लागुऔषध सेवन गरेर अलपत्र परेका युवाहरूलाई स्थानीयले उद्धार गरेका घटनासमेत देखिएका छन्।
लागुऔषधको कुलतमा फसेपछि त्यसबाट बाहिरिन कठिन हुने र पैसा अभाव भएपछि चोरीजस्ता आपराधिक गतिविधिमा संलग्न हुने गरेको सरोकारवालाहरू बताउँछन्। पक्राउ परेका कतिपय अभियुक्त अदालतबाट धरौटी वा तारेखमा छुटेपछि पुनः चोरीमा संलग्न हुने गरेको आरोपसमेत उठ्ने गरेको छ।
मोरङ प्रहरीले चोरी नियन्त्रणका लागि विशेष टोली तथा सिभिल पोशाकमा प्रहरी परिचालन गर्दै आएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार आर्थिक वर्ष २०८२र८३ मा जिल्लाभर १९५ वटा चोरीका मुद्दा दर्ता भएका छन्। ती घटनामा संलग्न २६२ जनालाई पक्राउ गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।
त्यसैगरी, २०८३ सालको वैशाख र जेठ महिनामा मात्रै विराटनगर क्षेत्रमा ५० वटा चोरीका मुद्दा दर्ता भएका छन्। ती घटनामा संलग्न ७४ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको प्रहरीले जनाएको छ।
प्रहरीले चोरी भएका तथा हराएका मोबाइल फोन र मोटरसाइकलसमेत सम्बन्धित धनीलाई फिर्ता बुझाउने कार्य गरिरहेको जनाएको छ। यद्यपि, चोरी नियन्त्रणका लागि पक्राउ मात्र पर्याप्त नभई लागुऔषधको ओसारपसार र बिक्री वितरणमा कडा नियन्त्रण आवश्यक रहेको स्थानीयहरूको धारणा छ।
कोशी प्रदेश प्रहरी कार्यालयले पछिल्ला दिनमा लागुऔषध नियन्त्रण तथा न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गरिरहेको भए पनि सेवनकर्ताको संख्या उल्लेख्य रूपमा घट्न नसकेको स्थानीयको गुनासो छ। चोरीका घटना भने अझै निरन्तर बढिरहेको उनीहरूको भनाइ छ।
प्रहरी अधिकारीहरूका अनुसार चोरीसम्बन्धी कसुरमा सजाय तथा दण्डको व्यवस्था तुलनात्मक रूपमा कमजोर हुँदा केही अभियुक्तहरूमा कानुनप्रति डरको अभाव देखिएको छ। यही कारण पुनः अपराधमा संलग्न हुने प्रवृत्ति बढेको उनीहरूको भनाइ छ।
मोरङ प्रहरीले नागरिकलाई आफ्ना घर, पसल तथा सम्पत्तिको सुरक्षा व्यवस्थामा विशेष ध्यान दिन, शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन तथा सामुदायिक सुरक्षा अभियानमा सहयोग गर्न आग्रह गरेको छ। स्थानीयवासीले भने लागुऔषध बिक्री वितरणमा संलग्न व्यक्तिमाथि अझ कडा निगरानी र कारबाही हुनुपर्ने माग गरेका छन्।