विराटनगर । विराटनगर महानगरपालिका–८ को हाम्रो चोक क्षेत्रका स्थानीयवासीले लामो समयदेखि खानेपानी आपूर्तिमा समस्या भइरहेको भन्दै नेपाल खानेपानी संस्थान शाखा कार्यालय विराटनगरमा लिखित गुनासो दर्ता गरेका छन्।
स्थानीय बलबहादुर घिमिरेसहितका उपभोक्ताले असार ३ गते संस्थानमा बुझाएको निवेदनमा एक महिनाभन्दा बढी समयदेखि धारामा नियमित रूपमा पानी नआएको उल्लेख गरेका छन्। उनीहरूका अनुसार कहिलेकाहीँ पानी आए पनि अत्यन्त कम मात्रामा आउने गरेकाले दैनिक जीवन प्रभावित बनेको छ।
खानेपानी अभावका कारण दैनिक उपभोग, सरसफाइ तथा अन्य घरायसी कामकाजमा समस्या उत्पन्न भएको उपभोक्ताहरूको भनाइ छ। पटक–पटक मौखिक रूपमा जानकारी गराउँदा समेत प्रभावकारी पहल नभएको भन्दै उनीहरूले तत्काल समस्या समाधानको माग गरेका छन्।
निवेदनमा पछिल्लो २४ घण्टाभन्दा बढी समयदेखि धारामा एक थोपा पानीसमेत नआएको उल्लेख गर्दै नियमित र सहज खानेपानी आपूर्तिको व्यवस्था गर्न आग्रह गरिएको छ। समस्या समाधानमा ढिलाइ भए थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी समेत उपभोक्ताले दिएका छन्।
यता नेपाल खानेपानी संस्थान शाखा कार्यालय विराटनगरका सहायक लेखापाल पदमहरि राईले एक महिनासम्म पूर्ण रूपमा पानी नआएको दाबी सत्य नभएको बताएका छन्। उनका अनुसार हाल नयाँ खानेपानी जडानको काम भइरहेका कारण केही क्षेत्रमा आपूर्तिमा समस्या देखिएको हुन सक्छ।
गुनासो प्राप्त हुनासाथ प्राविधिक टोली परिचालन गरी समस्या पहिचान तथा मर्मत कार्य गरिने र दुई दिनभित्र नियमित पानी आपूर्ति गर्ने प्रयास भइरहेको राईले जानकारी दिए। उत्पादन क्षमतामा अपेक्षित वृद्धि हुन नसक्दा बेला–बेलामा आपूर्तिमा समस्या देखिने गरेको उनको भनाइ छ।