सोनु साह
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा सूचना प्रविधि (आईटी) क्षेत्रको उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीका लागि नयाँ अवसर सिर्जना भएको छ। विराटनगर–५ मा रहेको एभरेष्ट एजुकेशन फाउन्डेसनले काठमाडौं विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गरी ‘न्यू एभरेष्ट कलेज’ मार्फत ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी कार्यक्रम सञ्चालन गर्ने भएको छ।
आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत कलेजले आगामी शैक्षिक सत्रदेखि बीआईटी कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिएको हो। संस्थाका अनुसार २०५० सालमा स्थापना भएको एभरेष्ट स्कुल विद्यालयले विगतदेखि नै उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै आएको र यस वर्ष कक्षा १२ मा शतप्रतिशत नतिजा ल्याउन सफल भएको दाबी गरिएको छ।
विद्यालय व्यवस्थापनले विराटनगरमै विश्वस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको भौतिक पूर्वाधारसहित कलेज सञ्चालन गर्न लागेको जनाएको छ। उच्च शिक्षा अध्ययनका लागि काठमाडौं वा विदेश जानुपर्ने बाध्यता कम गर्ने उद्देश्यले काठमाडौं विश्वविद्यालयको बीआईटी कार्यक्रम विराटनगरमा ल्याइएको संस्थाको भनाइ छ।
काठमाडौं विश्वविद्यालय नेपालका अग्रणी विश्वविद्यालयमध्ये एक मानिन्छ। विश्वविद्यालयले निर्धारण गरेको पाठ्यक्रमअनुसार सञ्चालन हुने बीआईटी कार्यक्रम आठ सेमेस्टर अर्थात् चार वर्षे हुनेछ। सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गर्न लागिएको कलेजले जनाएको छ।
बीआईटी अध्ययन क्रमअन्तर्गत सफ्टवेयर डेभलपमेन्ट, मोबाइल एप्लिकेसन डेभलपमेन्ट, कम्प्युटर नेटवर्क तथा साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ, कृत्रिम बौद्धिकता, डाटा एनालिटिक्स लगायतका विषय समावेश छन्। साथै परियोजना व्यवस्थापन तथा इन्टर्नसिपको व्यवस्था पनि गरिने जानकारी दिइएको छ।

बीआईटी उत्तीर्ण गरेपछि विद्यार्थीले सफ्टवेयर इन्जिनियर, मोबाइल एप डेभलपर, वेब डेभलपर, साइबर सेक्युरिटी एनालिस्ट, सिस्टम एड्मिनिस्ट्रेटर, क्लाउड इन्जिनियर, आईटी कन्सल्टेन्ट, डाटा विश्लेषक तथा प्रविधि उद्यमीका रूपमा करिअर बनाउन सक्ने कलेजले जनाएको छ। साथै एमआईटी, एमएससी आईटी, एमएससी कम्प्युटर साइन्स, डाटा साइन्स, आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सेक्युरिटी, एमबीए तथा एमबीआईएस जस्ता स्नातकोत्तर कार्यक्रम अध्ययनको अवसर समेत उपलब्ध हुने बताइएको छ।

कलेजका सञ्चालक टीकाराम पुरीका अनुसार विश्वविद्यालयले असार ५ गतेदेखि २५ गतेसम्म भर्ना दर्ताको समय निर्धारण गरेको छ। सीमित सिटमा मात्र विद्यार्थी भर्ना गरिने भएकाले इच्छुक विद्यार्थी तथा अभिभावकलाई समयमै सम्पर्क गर्न आग्रह गरिएको छ। साथै कक्षा १२ मा उत्कृष्ट जीपिए ल्याएका विधार्थीहरुलाई कलेजले सम्मान समेत गरेका थिए ।