प्रेम देवान
विराटनगर । हुलाकी राजमार्गअन्तर्गत मोरङको कटहरी खण्डको सडकको दुर्दशाले सोमबार फेरि एकपटक स्थानीयवासी र सवारी चालकको आक्रोश सतहमा ल्याएको छ । लगातारको वर्षासँगै हाटखोला–कटहरी खण्डको कच्ची सडक हिलाम्मे बनेपछि एकै स्थानमा एउटा ट्याक्टरसहित चारवटा मालवाहक सवारी साधन सडकमा भासिएका छन् ।
सडकमा सवारी साधन फसेपछि बिहानैदेखि स्थानीयवासी र ट्राफिक प्रहरी उद्धारमा जुटेका थिए। निकै प्रयासपछि एउटा ट्रक निकाल्न सफल भए पनि अन्य सवारी साधन भने सडकमै अलपत्र परे। सम्बन्धित निकायले समस्या समाधानमा चासो नदिएको भन्दै आक्रोशित स्थानीयवासी र चालकहरूले सडक अवरोध गरेका थिए। उनीहरूले सडकमा बाँस तेस्र्याएर सवारी साधन रोक्ने प्रयास गरेका थिए ।

आन्दोलनका क्रममा रंगेली र सिजुवा चौकीबाट कैदीबन्दी लिएर विराटनगरतर्फ आउँदै गरेको प्रहरी भ्यानलाई समेत स्थानीयले त्यहाँबाट फर्काएका थिए। सडक निर्माणमा भएको ढिलाइप्रति स्थानीयको असन्तुष्टि झन् बढ्दै गएको देखिएको छ। यता, सडकमा फसेका सवारी साधन व्यवस्थापन गर्न तीन जना ट्राफिक प्रहरी बिहानदेखि नै हिलाम्मे सडकमा खटिएका थिए । एक ट्राफिक प्रहरी उमेश सिहले दिउँसो २ बजेसम्म खाना समेत नखाई सवारी व्यवस्थापनमा जुटिरहेको बताएका थिए । स्थानीयवासीले वर्षौंदेखि उक्त सडक कालोपत्रे गर्न माग गर्दै आन्दोलन गर्दै आएका छन्। सञ्चारमाध्यमहरूले पनि पटक–पटक यस विषयलाई उठाउँदै आएका छन्। तर, निर्माण कम्पनीविरुद्ध अदालतमा मुद्दा परेपछि केही समय काम रोकिएको थियो भने पछि ठेक्का नै रद्द हुँदा सडक थप अलपत्र बनेको हो।

राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गअन्तर्गत मोरङ खण्डमा करिब ४४ किलोमिटर सडक पर्छ। त्यसमध्ये विराटनगरको हाटखोलादेखि कटहरीको रामचोकसम्म करिब ६ किलोमिटर सडक सबैभन्दा बढी समस्याग्रस्त बनेको छ । २०७६ सालमा काठमाडौंस्थित श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रालिले निर्माणको ठेक्का लिए पनि तोकिएको समयमा काम सम्पन्न गर्न नसकेपछि ठेक्का तोडिएको थियो। हाल सडक निर्माण कार्य ठप्प छ ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीका प्रमुख युवराज पोखरेलका अनुसार कटहरी खण्ड निर्माणका लागि नयाँ ठेक्का आह्वान गर्ने तयारी भइरहेको छ। एक साताभित्र नयाँ ठेक्का प्रक्रिया सुरु गरिने दाबी गरिएको छ । तर ठेक्का प्रक्रिया पूरा हुन कम्तीमा तीन महिना लाग्ने भएकाले यो वर्षाको समयमा पनि स्थानीयले हिलाम्मे सडकको सास्ती खेप्नुपर्ने देखिन्छ ।
यसैबीच, कटहरी गाउँपालिकाको नगरसभामा प्रमुख अतिथिका रूपमा सहभागी भएका कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री तथा सोही क्षेत्रका प्रदेशसभा सदस्य भीम पराजुलीले सडक निर्माण हुने भन्दै स्थानीयलाई आश्वस्त पार्ने प्रयास गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पराजुलीले आफू पनि सोही बिग्रिएको सडक भएर कार्यक्रममा आएको बताउँदै जनताले भोगिरहेको पीडा आफूले नजिकबाट बुझेको बताए। उनले सडक निर्माणका लागि संघीय, प्रदेश तथा स्थानीय जनप्रतिनिधिहरूसँग मिलेर दबाबमूलक कार्यक्रमसमेत गरेको स्मरण गर्दै निर्माण कार्य सम्पन्न हुन नसक्दा आफूलाई समेत लाज लाग्ने अवस्था आएको स्वीकार गरे।

“राज्यभन्दा ठूला ठेकेदार र निर्माण कम्पनी हुँदा रहेछन्। हामीले चाहेर पनि तत्काल केही गर्न सकेनौं,” उनले भने, “तर अब नयाँ ठेक्का प्रक्रिया अगाडि बढिसकेको छ। तपाईंहरू ढुक्क हुनुहोस, सडक बन्छ।”पराजुलीले यस सडकको समस्याका कारण सबैभन्दा बढी दबाब कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले भोग्नुपरेको र त्यसपछि आफूहरू, वडा अध्यक्ष तथा जनप्रतिनिधिहरूले जनताको गुनासो सुन्नुपरेको बताए। उनले अब कसैले गाली खानु नपर्ने गरी सडक निर्माण प्रक्रिया अघि बढ्ने विश्वास व्यक्त गरे।
तर स्थानीयवासी भने आश्वासनभन्दा कामको प्रतीक्षामा छन्। वर्षा लाग्नासाथ हिलाम्मे र सुख्खा मौसममा धुलाम्मे बन्ने यो सडकका कारण दैनिक आवतजावत गर्ने हजारौं नागरिक समस्यामा परिरहेका छन्। मोरङ क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सन्तोष राजवंशीले पनि निर्वाचनका बेला हुलाकी राजमार्ग निर्माणलाई प्रमुख एजेन्डा बनाएका थिए। संसद्मा समेत यो विषय उठाइसकेका राजवंशी तथा वर्तमान सरकारअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अब कटहरी खण्डलाई उच्च प्राथमिकतामा राखेर निर्माण प्रक्रिया तीव्र बनाउनुपर्ने स्थानीयको माग छ ।