झापा । केही वर्ष अघिसम्म भोजपुरका ग्रामीण बस्तीहरू रित्तिँदै गएका थिए । विदेशिने युवाको लहर, शहरतर्फको बसाइँ–सराइ तथा कृषि पेशाप्रतिको घट्दो आकर्षणले गाउँहरू सुनसान बन्दै थिए । खेतीयोग्य जमिन बाँझीदै थियो, घरहरूमा वृद्ध–वृद्धा मात्रै देखिन्थे । तर पछिल्ला वर्षमा त्यही उदास दृश्य विस्तारै बदलिन थालेको छ ।
कोभिड–१९ महामारीपछि गाउँ फर्किएका युवा तथा विदेश जान नपाएका धेरै परिवारले पुनः जमिनलाई जीवन दिन थाले । यही पुनर्जीवनको केन्द्र बनेको छ अकबरे खुर्सानी । पौवादुङ्मा गाउँपालिका, अरुण गाउँपालिका तता भोजपुर नगरपालिकाका विभिन्न वडामा अहिले अकबरे खुर्सानीको हरियाली फैलिएको छ । पहिले बाँझो रहेका खेतबारीहरू अहिले रातो खुर्सानीले रंगिएका छन् । कतिपय ठाउँमा त लहरै रोपिएका बोटहरूले गाउँ नै हरियो टनेलजस्तो देखिन थालेको छ । परम्परागत खेतीबाट खासै आम्दानी नहुने, मकै–धान जस्ता बाली जंगली जनावरको समस्याले नष्ट हुने अवस्थाबीच किसानहरूले विकल्प खोजिरहेका थिए । त्यही विकल्प बनेको हो—अकबरे खुर्सानी ।
यस परिवर्तनको नेतृत्वकर्ता मानिन्छन् जीवन राउत । कोभिडअघि ट्राभल व्यवसायमा सक्रिय राउत महामारीपछि गाउँ फर्किए । गाउँको अवस्था देखेपछि उनले परम्परागत खेतीभन्दा छिटो आम्दानी दिने नगदेबालीको खोजी थाले । गाउँलेसँग छलफलपछि उनले अकबरे खुर्सानीलाई व्यावसायिक रूपमा विस्तार गर्ने योजना अघि सारे । सुरुवातमा धेरै किसान हिच्किचाए पनि उनले आश्वासन दिए । ‘तपाईँहरू जति उत्पादन गर्न सक्नुहुन्छ गर्नुहोस्, बजारको जिम्मा मेरो हुन्छ ।’त्यही विश्वासले गाउँमा परिवर्तन प्रारम्भ भयो । केही किसानले प्रारम्भ गरेको खेती विस्तारै सामूहिक अभियानजस्तै बन्यो ।
किसानहरूका अनुसार अकबरे खुर्सानीले छोटो समयमै आम्दानी दिन थालेको छ । तीन महिनामै बिक्रीयोग्य उत्पादन हुने भएकाले यो खेती गाउँलेको प्रमुख नगदेबाली बनेको छ । पहिले मकै–कोदोले मुस्किलले घर–खर्च धान्ने जमिनबाट अहिले लाखौँ रुपैयाँको उत्पादन हुन थालेको छ । धेरै परिवारले आफ्नै खेतबारीमा अकबरे लगाएर नियमित आम्दानी लिन थालेका छन् । राउत आफैँ पनि जेबी एग्रो फर्ममार्फत उत्पादन तथा बजारीकरणमा सक्रिय छन् । गाउँलेलाई बीउदेखि बजारसम्म सहयोग गर्ने प्रणालीले खेती विस्तारलाई सहज बनाएको छ ।
भोजपुर अकबरेको नयाँ पहिचान
अकबरे खुर्सानी विस्तारसँगै भोजपुरले नयाँ पहिचान बनाउन थालेको छ । पहिलेदेखि खुकुरीको लागि चिनिने जिल्ला अब ‘अकबरे हब’ का रूपमा चिनिन थालेको छ । पौवादुङ्मा गाउँपालिकाका सबै वडामा व्यावसायिक खेती भइरहेको छ भने अरुण तथा भोजपुर नगरपालिकाका विभिन्न क्षेत्रमा पनि उत्पादन विस्तार भएको छ । करिब ३ हजार ५ सयभन्दा बढी परिवार कुनै न कुनै रूपमा अकबरे खेतीमा जोडिएका छन् ।
कतिपय किसानले १०० रोपनीसम्म जग्गामा व्यावसायिक खेती गरेका छन् । जिल्लाबाट वार्षिक करिब २५० देखि ३०० टन अकबरे उत्पादन हुने अनुमान छ । भोजपुरको अकबरे अहिले देशका ठूला चाउचाउ उद्योगदेखि अचार उद्योगसम्म पुग्ने गरेको छ । वाइवाइ डाइनामाइट, करेन्ट नुडल्स लगायत उद्योगहरूले यसको प्रयोग गर्छन् ।
तर उत्पादन बढेसँगै मूल्य घटेको छ । पहिले प्रतिकिलो ४०० रुपैयाँसम्म पुगेको अकबरे अहिले १५० देखि १६० रुपैयाँमा झरेको छ । किसानका लागि आम्दानी स्थिर भए पनि अपेक्षित रूपमा बढ्न सकेको छैन । ढुवानी खर्च, बजार पहुँच र भण्डारणको अभाव अझै ठूलो चुनौती बनेको छ ।
गाउँमै उद्योग तथा कोल्ड स्टोरको आवश्यकता
जीवन राउत अब गाउँमै पाउडर उद्योग तथा कोल्ड स्टोर स्थापना गर्ने योजनामा छन् । उनका अनुसार उत्पादन प्रशोधन गर्न सके अकबरेको मूल्य स्थिर राख्न सकिन्छ र विदेश निर्यातसमेत सहज हुन्छ ।
‘भदौ–असोजमा उत्पादन हुने खुर्सानी पुस–माघमा बेच्न सके किसानले राम्रो फाइदा लिन सक्छन्,’ उनी भन्छन् । उनको योजना अनुसार पाउडर उद्योग स्थापना भएमा ठूलो परिमाणमा उत्पादन भए पनि बजार अभाव हुने छैन । भोजपुरको अकबरे अघिल्ला वर्षहरूमा बेलायत, अमेरिका तथा क्यानडासम्म समेत निर्यात भएको छ । अहिले भारततर्फ पनि निर्यात प्रारम्भ भएको छ । नेपाली उद्योगहरूले यसको माग बढाउँदै लगेका छन् ।
राउतका अनुसार अमेरिकाका केही कम्पनीहरूले समेत अकबरे खरिदका लागि चासो देखाएका छन् । केही उद्योगले त प्याकेजिङ गरेर काँचो खुर्सानी नै विदेश पठाउन थालेका छन् ।
अकबरेपछि ड्रागन फ्रुटतर्फ विस्तार
अकबरेको सफलतापछि राउत अब अन्य नगदेबालीतर्फ पनि अघि बढेका छन् । उनले १०० रोपनी क्षेत्रफलमा ड्रागन फ्रुट खेती विस्तार गर्ने योजना बनाएका छन्, जसमा करिब २० हजार बिरुवा रोप्ने लक्ष्य छ ।
त्यससँगै कागती, अदुवा तथा अन्य नगदेबाली पनि विस्तार गर्ने तयारी भइरहेको छ । पशुपालन तथा मल उत्पादनलाई समेत कृषि प्रणालीसँग जोड्ने उनको योजना छ ।
अकबरे खुर्सानीले भोजपुरका गाउँहरूमा आर्थिक परिवर्तन मात्रै ल्याएको छैन, सामाजिक परिवर्तन पनि ल्याइरहेको छ। रित्तिँदै गएका गाउँहरूमा फेरि युवाहरूको चहलपहल बढेको छ, परिवारहरू एकै ठाउँमा बस्न थालेका छन् र बाँझो जमिन फेरि जीवन्त बनेको छ ।
विदेशिने बाध्यता र बसाइसराइको दबाबबीच भोजपुरले देखाएको यो कृषि मोडेल अब अन्य जिल्लाका लागि पनि उदाहरण बन्न थालेको छ ।