विराटनगर । नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरको पार्किङ्गस्थलबाट गत सोमबार बिहान पेट्रोलको पार्किङ्ग चोरीभयो । आइतबार दिउँसो पार्किङमा राखिएको ट्याङकर सोमबार बिहान २ बजेर ५९ मिनेट ४६ सेकेन्डमा बाहिर निकालिएको थियो । त्यसपछि कन्चनबारी पश्चिम हुँदै सुनसरीको शुक्रबारे–चिमडी हुँदै लगेको देखिएको छ ।
भारतको सिलगुडीबाट लोड भएर आएको ट्याङ्करको मेकानिकल सेट्रिङलक फोडेर ९७३ लिटर पेट्रोल चोरी भएको छ । कन्चनबारीबाट लगिएको ट्याङकर भोक्राहा गाउँपालिका ८ स्थित हुलाकी राजमार्गमा फेला परेको थियो । फेला पर्दा सेट्रिङलक फोडिएको थियो । साह्रै धेरै इन्धन चोरी भएपछि २०७५ सालमा नेपाल आयल निगमले मेकानिकल सेट्रिङ लक लगाउन थालेको हो । जुन लकमा आठ हजारको ताला हुन्छ । भारतको सिलगुडीस्थित इन्डिन आयल कर्पोरेसनमा गत शनिबार २० किलोलिटर( बीसहजार लिटर) पेट्रोल लोड भएको को १ ख ६१९० नम्बरको ट्याङ्करको त्यहि ताला फोडेर पेट्रोल चोरी भएको हो ।
ट्याङकरको गुणस्तर तथा परिमाणको नापजाँच बुधबार गर्दा १९ हजार २७ लिटर मात्रै पेट्रोल रहेको पाइएको छ । बुधबार ट्याङकरको पेट्रोल अनलोड भएको छ । चोरी भए बाहेक कैफियत फेला परेको छैन । नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरका प्रमुख पुष्कर कार्कीका अनुसार पार्किङस्थलमा राखिएको ट्याङकर नै नियन्त्रणमा लिएर इन्धन चोरी भएको देखिएको हो । नवीन ढुवानी सेवा प्रा.लि.को नाममा रहेको उक्त ट्याङकरका चालक घर गएको अवस्थामा ट्याङकर पार्किङस्थलबाट हराएको हो । नेपाल आयल निगम परिसरमा प्रवेश गरेर चलान नबुझ्दासम्म इन्धन तथा ट्याङकरको सुरक्षा स्वयम् ढुवानी व्यवसायीको जिम्मेवारीमा हुने भएकोले यसमा नोक्सान भने बेहोर्नु परेको छैन ।
सिलगुडीमा लोड भएर ताला मारिएको ट्याङकर आयल निगममा प्रवेश गरेपछि ‘मास्टर कि’बाट खुल्छ । इन्धनका ट्याङकरमा २०७५ सालदेखि खिया नलाग्ने फलाम (स्टिललेस स्टिल) प्रयोग गरेर मेकानिकल सेन्ट्रल लक सिस्टम जडान गरिएको छ । चोरले लगेको ट्याङकरको ताला ग्रान्डरको प्रयोग गरेर फोरिएको हो ।
निगमका प्रादेशिक प्रमुख कार्कीका अनुसार इन्धनको गुणस्तरमा कुनैपनि समस्या नदेखिएको र परिमाण घटी देखिएकोले नविन ढुवानी सेवा प्रा.लि.का प्रमुख नविन कर्णलाई चारलाख १७ हजार ४७१ रुपिँया जरिवाना गर्ने निर्णय गरिएको छ । प्रमुख कार्कीका अनुसार लोड भएर आएका ट्याङकरमा तापक्रमको फरकबाट हुने परिमाण बाहेक ०.२५ प्रतिशत भन्दा कम भएमा प्रचलित खुद्रा मूल्य अनुसार असुल गर्ने र त्यो भन्दा बढी भएमा प्रचलित खुद्रा मूल्यको दोब्बर असुल गर्ने नियम अनुसार जरिवाना गरिएको हो । त्यैसैले चोरी भएको पेट्रोलको मूल्य २ लाख ८ हजार ७३५ रुपिँया ५० पैसाको हुने भएपनि व्यवसायीबाट दोब्बर रकम असुल गर्ने निर्णय गरिएको हो । ट्याङकरका पाँच चेम्बरमध्ये १ नम्बरबाट ८४८ लिटर, २ नम्बरबाट १५ लिटर, ३ नम्बरबाट २१ लिटर, ४ नम्बरबाट ६ लिटर र ५ नम्बरबाट ८३ लिटर पेट्रोल चोरी भएको पाइएको छ ।
पेट्रोल चोरी भएपछि व्यवसायीको उक्त ट्याङकरबाट हुने ढुवानीका लागि जारी हुने पीडिओ (प्रोडक्ट डेलीभरी अर्डर) समेत नेपाल आयल निगम केन्द्रीय कार्यालयले रोक्का गर्ने निर्णय गरेको छ । चोरीमा संलग्नको अनुसन्धान भइरहेको छ । ट्याङकरका चालक समेत बुधबार आयल निगम परिसरमा रहेका थिए ।
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष गुणराज निरौलाले क्षति जसको भयो उसैबाट दोब्बर जरिवाना असुल हुनु दुःखद कुरा भएको गुनासो गरेका छन् । उनले मेकानिकल लकिङ सिस्टम प्रणालीमा रहेको ट्याङकरको ताला ग्रान्डरले काटेर पेट्रोल चोरी भएको हो । त्यसमा निगमले पार्किङस्थल व्यवस्थित बनाउन नसक्नुको दोष ठहर्ने निरौलाको भनाई छ । पार्किङस्थलमा सुरक्षा गार्ड र सिसी टिभी जडान गरिनुपर्ने माग समेत व्यवसायीले गरेका छन् । उनले ढुवानी नियमावलीले नै व्यवसायी तल पर्ने देखिएको छ । तोकेको जरिवाना बुझाएपछि पिडिओ रोक्न नहुनेमा उनको जोड थिउो ।
घटनाको अनुसन्धान प्रक्रिया जिल्ला प्रहरी कार्यालय मोरङले अगाडी बढाएको छ । नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरको उजुरीका आधारमा ट्याङकर नै नियन्त्रणमा लिएर २० किलोमिटर टाढासम्म पु¥याइकन पेट्रोल चोरी गर्नेहरुको खोजतलास भइरहेका छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख कबित कटुवालले शंका लागेका केहिसँग सोधपुछ भइरहेको बताए । यद्यपी उनले पक्राउ परेका व्यक्तिका बारेमा केहि बताएनन् । यस अगाडी समेत ट्याङकर नै चोरी गरेर पेट्रोलपम्पमा इन्धन खन्याएका घटना भएका थिए । ६ वर्ष अगाडी विराटनगरबाट हराएको ट्याङकर सप्तरीमा पु¥याएर पेट्रोलपम्पमा इन्धन अनलोड गरेको घटना भएको थियो ।