विराटनगर । विराटनगर १४ निवासी कन्चनकुमारी मेहता ३५ वर्षमै अप्लास्टिक एनिमियाबाट पीडित छिन् । यो कडाखाले रोग हो । गत कार्तिकदेखि कन्चनको उपचार भइरहेको छ । यसको उपचारमा प्रयोग हुने औषधि महंगो हुन्छ । उनका भाई सुनिलका अनुसार अहिलेसम्म धेरै खर्च भइसकेको छ । अब बोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने स्थिति देखिएको छ ।
उपचार अलि लामो समय चल्ने भएकाले अन्य खर्च पनि जोडिएर झन् महंगो हुन गर्दछ । तर, भाइ सुनिलसँग पैसा छैन । दिदीको उपचार जसरी पनि उनलाई गर्नुपर्नेछ । त्यसैले उनले दिदीको उपचारका लगि सहयोगको याचना गरिरहेका छन् । त्यसका लागि
मोवाइल नम्बर ९७१४५१२५१५
बैंक एकाउन्ट नम्बर रावा वाणिज्य बैंक
२१२०१०००६०१०३०१०

कस्तो रोग हो ?
अप्लास्टिक एनिमिया यस्तो अवस्था हो जसमा शरीरले नयाँ रक्तकोषिकाहरु उत्पादन गर्न छोड्छ । यस्तो अवस्थामा बोनम्यारोमा रगत बन्नमा कठिनाइ हुन्छ, जसकारण बिरामीमा कमजोरी र थकान जस्ता समस्या आउन थाल्छन् । यो रोग जुनसुकै उमेरका व्यक्तिलाई लाग्न सक्छ । यदि यसलाई लामो समयसम्म बेवास्ता गरियो भने यसको परिणाम गम्भीर हुन सक्छ र बिरामीको मृत्यु समेत हुन सक्छ ।
शरीर स्वस्थ हुन सधैं नयाँ रक्तकोषिकाहरु उत्पादन हुनुपर्छ । तर अप्लास्टिक एनिमियाको अवस्थामा, शरीरमा नयाँ रक्तकोषिकाहरुको उत्पादन बन्द हुन्छ । अप्लास्टिक एनिमियाको समस्या देखिनुको कारण के हो ? यसको उपचार सम्भव छ कि छैन ?
अप्लास्टिक एनिमियाको कारण के हो ?
कतिपय बालबालिकालाई यो समस्या जन्मजात पनि हुन्छ । धेरै पटक ‘अटोयम्युन’ आफ्नै प्रतिरक्षा प्रणालीले स्वस्थ कोषिकाहरुलाई आक्रमण गर्छ र तिनीहरूलाई बिस्तारै मार्न थाल्छ । यसले हड्डीमा रहेका कोषिकाहरूलाई पनि नष्ट गर्न थाल्छ, जुन एक विकार हो ।
भाइरल संक्रमण पनि अप्लास्टिक एनिमियाको कारण हुन सक्छ । भाइरसहरूमा हेपाटाइटिस बी, एचआईभी, एपस्टेन–बार, साइटोमेगालो भाइरस पनि पर्छन् ।
लक्षणहरू के के देखा पर्छन् ?
हाम्रो शरीरमा विभिन्न रक्तकोषिकाहरुको आ–आफ्नै भूमिका हुन्छ । शरीरमा रातो रक्तकोषिकाहरुले शरीरको हरेक भागमा अक्सिजन पुर्याउने काम गर्छन्, जबकि सेतो रक्तकोषिकाहरुले संक्रमणसँग लड्ने काम गर्छन् । यसबाहेक प्लेटलेट्सले हाम्रो शरीरमा रक्तस्राव रोक्न भूमिका खेल्छ ।
अप्लास्टिक एनिमियाको अवस्थामा यीमध्ये कुनै पनि रक्तकोषिकाहरु हाम्रो शरीरमा कमी हुन सक्छ र यस्तो अवस्थामा तिनीहरूका लक्षण पनि फरक हुन्छन् । सामान्यतया अप्लास्टिक एनिमिया हुँदा शरीरमा रगतको कमी हुने, शरीर सेतो हुने, श्वासप्रश्वासको समस्या, थकान, पटकपटक संक्रमण हुने हुन्छ ।
साथै कुनै चोटपटक लागेको ठाउँमा लामो समयसम्म रक्तस्राव हुने, शरीरमा निलो दाग देखिने, पटकपटक ज्वरो आउनेजस्ता लक्षण देखा पर्छन् ।
अप्लास्टिक एनिमिया र रक्त क्यान्सरको लक्षण एकै प्रकारका हुने रहेछन् नि ?
रक्त क्यान्सर र अप्लास्टिक एनिमियाको लक्षण मिल्दोजुल्दो हुन्छ । यी दुवै रोग कडा हुने भएकाले लक्षणहरू देखिएपछि जतिसक्दो छिटो अस्पताल पुगेर चिकित्सकको सल्लाह लिनुपर्छ । हड्डीको मासीको जाँच गरेर अप्लास्टिक एनिमिया हो कि रक्त क्यान्सर भन्ने छुट्टाउन सकिन्छ ।
यसको उपचार के छ ?
अप्लास्टिक एनिमियाको सबैभन्दा राम्रो उपचार बोनम्यारो ट्रान्सप्लान्ट हो । तर नेपालमा ‘इम्युनोसप्रेसिभ थेरापी’ औषधिको प्रयोगबाट यसको उपचार गरिन्छ । क्यान्सरको उपचारमा किमोथेरापी भने जस्तै अप्लास्टिक एनिमियामा ‘इम्युनोसप्रेसिभ थेरापी’ औषधिबाट उपचार हुन्छ । ट्रान्सप्लान्ट मार्फत गरेको उपचारमा बिरामी ९० प्रतिशत निको हुन्छन् भने औषधिमार्फत गरेको उपचारमा ७० देखि ८० प्रतिशत निको हुन्छन् ।
उपचारपछि के के कुरामा ध्यान दिनुपर्छ ?
अप्लास्टिक एनिमिया भएका बिरामीहरूमा रगतको कमी, डब्लुबिसी र प्लेटलेटको पनि कमी हुने गर्छ । त्यसैले उपचाररत बिरामीलाई संक्रमण हुने सम्भावना हुने भएकाले सरसफाइमा विशेष ध्यान दिनुपर्छ, भीडभाडबाट बच्नुपर्छ । बिरामीलाई कडा औषधि चलाइने भएकाले उसको रोगप्रतिरोधात्मक क्षमता कमजोर हुन्छ यस्तो अवस्थामा कुनै इमरजेन्सी अवस्था आए तुरुन्त अस्पताल पुर्याउनुपर्छ ।