कोशी प्रदेशमा दुई अर्ब बढीका चार परियोजनाको लगानी स्वीकृत

<span class='c1'>कोशी प्रदेशमा दुई अर्ब बढीका</span> <span class='c2'>चार परियोजनाको लगानी स्वीकृत</span>

विराटनगर । कोसी लगानी प्राधिकरणले दुई अर्बका चार परियोजनालाई लगानी स्वीकृति दिएको छ । प्रदेश लगानी प्राधिकरणमार्फत दुई अर्ब आठ करोड ५३ लाख बराबर लगानी गर्ने गरी परियोजना विकास सम्झौता भएको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाका अनुसार कोसीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा हालै बसेको लगानी प्राधिकरणको ३३ औं बैठकले लगानी सम्मेलनमा समझदारी भएका सार्वजनिक निजी साझेदारीअन्तर्गतका चारवटा परियोजनाहरूको लगानी स्वीकृत गरेको छ । जसमा सुनसरीको दुहबी नगरपालिका–४ मा फोहोरमैला व्यवस्थापनको कार्य अघि बढ्ने भएको छ । रिभाईभ इन्फ्राटेक एन्ड इन्भेस्टमेन्ट कम्पनी काठमाडौंले ५५ करोड ९५ लाख २५ हजार रुपैयाँको लागतमा फोहोरमैला व्यवस्थापनको कार्य अघि बढाउने प्राधिकरणले जनाएको छ ।

यसैगरी दुहबी–४ मा नै मल्टी च्याम्बर एन्ड कोल्ड स्टोरेज एन्ड एग्रो प्रोसेसिङका निम्ति ३४ करोड, उदयपुरको बेलका नगरपालिका–४ र १० मा २० करोड लागतको फोहोरमैला व्यवस्थापन परियोजना बन्ने भएको छ । सुनसरीको रामधुनी नगरपालिका–७ मा रास ताल क्षेत्रको पूर्वाधार विकास निर्माण तथा सञ्चालनका निम्ति ९८ करोड ५८ लाख रुपैयाँको लगानी स्वीकृति प्रदान गरिएको छ ।

्कोसी लगानी प्राधिकरण कार्यालयले सार्वजनिक निजी सहकारी साझेदारी अवधारणामा यसअघि पहिलो सफल परियोजनाका रूपमा ‘भेडेटार स्काइ वाक’ निर्माण सम्पन्न भई सञ्चालनमा छ । यसबाट प्रदेश सरकारलाई आम्दानी समेत हुन थालेको छ । अघिल्ला आर्थिक वर्ष २०८१÷८२ मा विकासकर्ता कम्पनीसँग गरिएको परियोजना विकास सम्झौता (पीडीए) बमोजिम तीन तहका सरकारलाई कुल राजस्व करिब एक करोड ५० लाख प्राप्त भएको थियो । जसमा कोसी प्रदेश सरकारलाई मात्र ४० लाख प्राप्त भएको जनाइएको छ ।

कोसी सरकारले २०८२ वैशाख १८ र १९ गते विराटनगरमा प्रथम कोसी प्रदेश लगानी सम्मेलन आयोजना गरेको थियो । यसमा निजी अवधारणाका १९ र सार्वजनिक निजी साझेदारी अवधारणाका ३२ गरी कुल ५१ वटा परियोजनामा एक खर्ब ५७ अर्बबराबरको अनुमानित लागतको समझदारी (एमओयू) भएको थियो । समझदारीपत्रमा हस्ताक्षर भएका परियोजनाहरूमध्ये निजी क्षेत्रका अधिकांश परियोजना निर्माणको चरणमा प्रवेश गरेको कोइरालाले बताएका छन् ।

प्राधिकरणले नेपालमा नै पहिलोपटक रानीदेखि विराटनगर बसपार्क क्षेत्रसम्म ६ किलोमिटर क्षेत्रमा कोसी राजमार्गमा पड–वे सञ्चालन गर्न अनुमति दिएको छ । काठमाडौ पड–वे कम्पनीलाई ६ अर्ब १८ करोड रुपैयाँ लगानी गर्ने गरी परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन गर्न अनुमति समेत दिएको जनाएको छ ।
प्राधिकरणले ग्रीन हाइड्रोजन, बायोइथानोल, लिम्चुङबुङ केबरकार, राजारानी पर्यटकीय परियोजना, बरुवा बसपार्क र व्यापारिक भवन, गुप्तवाराहा मोनोरेल जस्ता परियोजनाहरू ‘प्रोजेक्ट साइकल’ साइकलका विभिन्न चरणमा रहेको पनि जनाएको छ । तिनलाई आगामी आर्थिक वर्षभित्र लगानी स्वीकृति दिने तयारी रहेको प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कोइरालाले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्