इटहरी, असार १६ गते।
कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा सुनसरीको इटहरीस्थित ओसियन पार्कमा सञ्चालित 'कोशी प्रदेश स्तरीय पौडी प्रतियोगिता' सम्पन्न भएको छ। असार १४ र १५ गते दुई दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न जिल्लाका खेलाडीहरूबीच तीव्र प्रतिस्पर्धा भएको थियो।
प्रतियोगितामा कुल ८३ अङ्क प्राप्त गर्दै मोरङ जिल्ला समग्रमा प्रथम स्थान हासिल गर्न सफल भएको छ। त्यसैगरी, ५७ अङ्कका साथ भोजपुर जिल्ला दोस्रो र ५३ अङ्क प्राप्त गर्दै झापा जिल्ला तेस्रो स्थानमा समेटिएका छन्। विजयी टोली तथा खेलाडीहरूलाई ट्रफी, पदक तथा प्रमाणपत्र वितरण गरिएको छ।
प्रतियोगिताको व्यक्तिगत विधातर्फ पुरुषतर्फ मोरङका सात वर्षीय बालक भियान केडिया दुई वटा स्वर्ण पदक जित्दै 'उदीयमान पुरुष खेलाडी' घोषित भए भने महिलातर्फ ताप्लेजुङकी आयशा पौडेल 'उदीयमान महिला खेलाडी' चुनिनुभयो। यसैगरी, प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै झापाका युग आचार्य १० वटा स्वर्ण पदकसहित 'उत्कृष्ट पुरुष खेलाडी' र ९ वटा स्वर्ण पदक जित्न सफल भोजपुरकी सिसुम्बुन (सिसुनबुम) राई 'उत्कृष्ट महिला खेलाडी' घोषित हुनुभयो।
कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य–सचिव विप्लव घोषको प्रमुख आतिथ्य तथा कोशी प्रदेश पौडी सङ्घका अध्यक्ष डम्बरबहादुर तामाङको सभापतित्वमा पुरस्कार वितरण समारोह सम्पन्न भएको थियो। उक्त प्रतियोगिताको प्राविधिक अनुगमन तथा सुपरिवेक्षण कोशी प्रदेशका प्रमुख पौडी प्रशिक्षक इन्द्रजितराज भण्डारीले गर्नुभएको थियो। स्थानीय स्तरमा यस्ता प्रतियोगिताको आयोजनाले प्रदेशमा पौडी खेलको विकास र नयाँ प्रतिभा पहिचानमा ठूलो टेवा पुग्ने विश्वास अधिकारीहरूले व्यक्त गरेका छन्।