आजभन्दा करिब १४ वर्षअघि विराटनगर गम्भीर खानेपानी संकटबाट गुज्रिरहेको थियो। दशकौं पुराना, खिया लागेका र जीर्ण पाइपलाइनहरूबाट वितरण हुने पानी कालो, धमिलो र दुर्गन्धयुक्त थियो। नागरिकहरूलाई शुद्ध खानेपानी उपलब्ध गराउनु राज्यको आधारभूत दायित्व भए पनि सम्बन्धित निकायको बेवास्ताका कारण हजारौं सर्वसाधारण दूषित पानी पिउन बाध्य थिए। परिणामस्वरूप हैजा, झाडापखाला, टाइफाइड लगायतका पानीजन्य रोगहरू फैलिएका थिए र धेरै परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका थिए। यही अवस्थाविरुद्ध मैले काठमाडौंको माइतीघर मण्डलामा एकल नागरिक आन्दोलन सुरु गरेको थिएँ।
आन्दोलनको मुख्य माग स्पष्ट थियो—विराटनगरका पुराना र खिया लागेका खानेपानी पाइपलाइन तत्काल प्रतिस्थापन गरियोस् र नागरिकलाई सुरक्षित तथा स्वच्छ खानेपानीको सुनिश्चितता गरियोस्। आन्दोलनका क्रममा राखिएका प्लेकार्डहरूले जनताको पीडा बोलिरहेका थिए। “शुद्ध खानेपानी देऊ, नत्र कुर्सी छोड”, “१२ जना भन्दा बढी बितिसके, हजारौं पीडित छन्” जस्ता नाराहरूले तत्कालीन स्वास्थ्य संकट र राज्यको गैरजिम्मेवारीपनलाई प्रतिविम्बित गर्थे।
त्यही समयमा नेपालमा वैकल्पिक र मूल्यमा आधारित राजनीतिको बहस सुरु हुँदै थियो। उज्ज्वल थापाको नेतृत्वमा विवेकशील नेपाली अभियान उदाउँदै थियो। सुशासन, पारदर्शिता, उत्तरदायित्व, संस्थागत पद्धति र सीमित व्यक्तिको नियन्त्रणबाट मुक्त राजनीतिक संस्कृतिको पक्षमा युवा पुस्तालाई संगठित गर्ने प्रयास भइरहेको थियो। आन्दोलनका क्रममा उज्ज्वल थापा, गोविन्द नारायण, रञ्जु दर्शना, सुबुना बस्नेत, दिवेश गिरी लगायत विवेकशील नेपालीका थुप्रै युवा अभियन्ताहरूले नैतिक समर्थन मात्र होइन, प्रत्यक्ष रूपमा माइतीघरमा आएर घण्टौंसम्म ऐक्यबद्धता जनाएका थिए। उनीहरूको उपस्थिति आन्दोलनका लागि मनोबल र वैचारिक शक्ति दुवै थियो।
त्यतिबेला आजजस्तो सामाजिक सञ्जालको व्यापक प्रभाव थिएन। फेसबुक प्रारम्भिक चरणमा थियो, युट्युबरहरू र डिजिटल इन्फ्लुएन्सरहरूको प्रभाव लगभग शून्य थियो। कुनै पनि आन्दोलनलाई जनस्तरसम्म पुर्याउन परम्परागत सञ्चारमाध्यम नै प्रमुख माध्यम थिए। यही कारणले आन्दोलनले सुरुवाती दिनहरूमा खासै राष्ट्रिय चर्चा पाएन। तर आन्दोलन निरन्तर जारी रह्यो। मैले त्यतिबेला विवेकशील नेपालीसँग आबद्ध थुप्रै युवाहरूलाई यही खानेपानी आन्दोलनका क्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा चिन्ने अवसर पाएको थिएँ।
आन्दोलनको तेस्रो दिनदेखि भने परिस्थितिमा परिवर्तन आयो। राजधानी टाइम्स, पूर्वेली टाइम्स तथा काठमाडौंका केही स्थानीय पत्रपत्रिकाहरूले आन्दोलनबारे समाचार प्रकाशित गर्न थाले। सञ्चारमाध्यममा समाचार आएपछि आन्दोलनले व्यापक ध्यान आकर्षित गर्यो। त्यसपछि मोरङका केही राजनीतिक नेता, सामाजिक अभियन्ता तथा नागरिक समाजका प्रतिनिधिहरू माइतीघर पुगेर ऐक्यबद्धता जनाउन थाले। विराटनगरको स्थानीय समस्या भनेर सुरु भएको विषय क्रमशः सार्वजनिक स्वास्थ्य, नागरिक अधिकार र राज्यको उत्तरदायित्वसँग जोडिएको राष्ट्रिय बहसको विषय बन्दै गयो।
अच्युत गिरी – अनुसन्धानात्मक संस्मरण