विराटनगर । नेपाल फुलवारी थ्री आर पोलुशन कन्ट्रोल सर्भिस प्रा.लि. युरोपियन युनियनद्वारा सम्मानित भएको छ। प्लास्टिकजन्य फोहोर व्यवस्थापन, चक्रिय अर्थतन्त्र र वातावरणीय दिगोपनमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै संस्थालाई २० लाख रुपैयाँ नगद अनुदानसहित प्रशंसापत्र प्रदान गरिएको हो।
युरोपियन युनियनको सहयोग तथा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल परियोजना अन्तर्गत निजी फोहोरमैला उद्यम तथा अपसाइकलिङ क्षेत्रमा उत्कृष्ट छ संस्थामध्ये नेपाल फुलवारी थ्री आर पोलुशन कन्ट्रोल सर्भिस छनोट भएको हो। संस्थाका अध्यक्ष आनन्द मिश्र र नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जोद्वारा हस्ताक्षरित प्रशंसापत्रमा संस्थाले प्लास्टिकजन्य फोहोर व्यवस्थापन, चक्रिय अर्थतन्त्रको प्रवर्द्धन तथा वातावरणीय संरक्षणमा गरेको अनुकरणीय र प्रेरणादायी कार्यको प्रशंसा गर्दै भविष्यमा पनि यस्तै सकारात्मक योगदानको अपेक्षा गरिएको उल्लेख छ।
संस्थाका व्यवस्थापन प्रमुख केदार घिमिरेका अनुसार प्राप्त २० लाख रुपैयाँ अनुदान संस्थाको भौतिक पूर्वाधार सुदृढीकरण तथा आवश्यक उपकरण व्यवस्थापनमा खर्च गरिएको छ। साथै कर्मचारीहरूको सुविधाका लागि अस्थायी आवास निर्माण गरी निःशुल्क बसोबासको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो।

घिमिरेले युरोपियन युनियन र ग्रीनसिफ्ट नेपाल परियोजनाप्रति आभार व्यक्त गर्दै यस सम्मानले संस्थालाई वातावरण संरक्षण तथा दिगो फोहोर व्यवस्थापन अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाउन थप प्रेरणा मिलेको बताउनुभयो। नेपाल फुलवारी थ्री आर पोलुशन कन्ट्रोल सर्भिसले हाल भक्तपुरसहित काठमाडौँ उपत्यकाका करिब १३ हजार, विराटनगर महानगरपालिकाका ११ हजारभन्दा बढी तथा सुन्दरहरैँचा नगरपालिकाका १२ हजारभन्दा बढी घरधुरीबाट नियमित रूपमा फोहोर संकलन गर्दै आएको छ।
स्थानीय तहसँगको सहकार्य र समन्वयमा सञ्चालन भइरहेको संस्थाले फोहोरलाई स्रोत र आर्थिक मूल्यमा रूपान्तरण गर्ने अवधारणालाई प्रवर्द्धन गर्दै स्वच्छ वातावरण, दिगो फोहोर व्यवस्थापन र समृद्ध सहर निर्माणमा योगदान पुर्याइरहेको जनाएको छ। साथै नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने संवैधानिक अधिकार सुनिश्चित गर्न संस्थाले निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।