विराटनगर । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले शनिबार कोशी अस्पतालको अनुगमन गर्दै अस्पताल परिसरमै विशिष्टीकृत आँखा अस्पताल स्थापना गर्ने विषयमा प्रारम्भिक छलफल गर्नुभएको छ। हाल अस्पतालबाट सञ्चालन हुँदै आएको आँखा उपचार सेवालाई विस्तार गरी छुट्टै आँखा अस्पतालका रूपमा विकास गर्ने तयारीबारे मन्त्री मेहताले अस्पताल प्रशासनसँग छलफल गर्नुभएको हो। अनुगमनमा मोरङ क्षेत्र नम्बर ६ की प्रतिनिधिसभा सदस्य रुविना आचार्य पनि सहभागी रहेका थिए।



अनुगमनका क्रममा मन्त्री मेहताले आकस्मिक कक्ष, विभिन्न वार्ड, प्रयोगशाला, फार्मेसी तथा निर्माणाधीन भवनहरूको निरीक्षण गर्दै सेवा प्रवाह, सरसफाइ र पूर्वाधार व्यवस्थापनको अवस्थाबारे जानकारी लिनुभएको थियो।
अनुगमनपछि उहाँले अस्पताल प्रशासनलाई अस्पताल परिसरको सरसफाइ थप प्रभावकारी बनाउन, निर्माण तथा मर्मतसम्भारका काम निर्धारित समयमै सम्पन्न गर्न, आवश्यक रङरोगन तथा पूर्वाधार व्यवस्थापनलाई व्यवस्थित गर्न तथा प्रत्येक विभागको नियमित अनुगमन गरी प्रगति विवरण पेश गर्न निर्देशन दिनुभएको छ। त्यसैगरी, अस्पताल परिसरभित्र रहेका अनाधिकृत संरचना हटाउने विषयमा एक महिनाअघि मन्त्रालयबाट दिइएको निर्देशन तत्काल कार्यान्वयन गर्न पनि उहाँले पुनः निर्देशन दिनुभएको छ।

मन्त्री मेहताले बिरामीले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्नु मन्त्रालयको प्रमुख प्राथमिकता रहेको बताउनुभयो। कोशी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट मेसु डा चन्द्र भाल झाका अनुसार अस्पतालमा हाल पनि आँखा उपचार सेवा सञ्चालनमा रहेको छ। जनशक्ति र भवनको अभावका बाबजुद प्रत्येक महिना करिब १५ जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया भइरहेको उहाँले जानकारी दिनुभयो।
उहाँका अनुसार मन्त्री मेहताले अस्पतालमा उपलब्ध आँखा सम्बन्धी सेवालाई अझ प्रभावकारी र विस्तारित बनाउन निर्देशन दिनुभएको छ। साथै पुराना भवनको मर्मत, रङरोगन, अस्पताललाई सफा, व्यवस्थित र आकर्षक बनाउने कार्यलाई प्राथमिकतामा राख्न पनि आग्रह गर्नुभएको छ।
अनुगमनका क्रममा मन्त्री मेहताले निर्माणाधीन भवनको प्रगति विवरणसमेत लिनुभएको थियो। साथै स्वास्थ्यकर्मी र कर्मचारीलाई बिरामीप्रति संवेदनशील भएर कुनै पनि किसिमको असुविधा वा दुःख नहुने गरी सेवा प्रवाह गर्न निर्देशन दिनुभएको अस्पताल प्रशासनले जनाएको छ।