विराटनगर । सुनसरीको अस्थायी प्रहरी चौकी चाँदबेलाबाट खटिएको प्रहरी टोलीले गढी गाँउपालिका १ मधेली झण्डा चोकबाट दुईजनालाई पेस्तोलसहित नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा पर्ने बिराटनगर महानगरपालिका वडा १७ रानीका ५१ वर्षीय नुर महमद र विराटनगर ८ असोक चोकका ३२ वर्षीय ईम्रान खान भन्ने मो. अहमद रहेका छन् ।
उनीहरुलाई चेकजाँच गर्दा चाइनिज पेस्तोल जस्तो देखिने पेस्तोल र म्याग्जिन थान–१ र ३ राउण्ड गोली बरामद भएको छ । पेस्तोल, म्याग्जिन र गोली सहित निजहरूलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय दुहवीले थप अनुसन्धान गरिरहेको छ ।
प्रारम्भिक अनुसन्धानबाट नुर महमदको २०६४ कार्तिक ८ गते जिल्ला प्रहरी कार्यालय मोरङबाट हातहतियार तथा खरखजाना र जवरजस्ती करणी उद्योग मुद्धा दर्ता भई १२ वर्ष कैद सजाय भुक्तान गरी छुटेको खुलेको छ । ईम्रान खान भन्ने मोहमद अहमद समेत २०७५ चैत १९ गते जिल्ला प्रहरी कार्यालय मोरङबाट चोरी मुद्धा चलेको खुलेको छ ।