विराटनगर। समाजमा देखिएको रगत अभावलाई न्यूनीकरण गर्दै मानव सेवाको महान् अभियानलाई निरन्तरता दिने उद्देश्यका साथ शान्तिचोक युवा समूहद्वारा आयोजित खुला रक्तदान कार्यक्रम शनिबार विराटनगर महानगरपालिका–वडा १, शान्तिचोकमा सफलतापूर्वक सम्पन्न भएको छ।
यस कार्यक्रममा ५१ जना रक्तदाताले स्वेच्छिक रूपमा रक्तदान गरेका थिए। संकलित ५१ पिन्ट रगतले उपचाररत बिरामीहरूको जीवन बचाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ। कार्यक्रममा विशेषगरी युवाहरूको उत्साहजनक तथा उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी, मोरङ शाखाका सभापति सुखदेव प्रसाद मण्डल रहेका थियो भने जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्री कवित कटुवाल बिशिस्ट अतिथिका रूपमा सहभागी भएको थियो।
यसैगरी, रक्तदाताहरूका लागि रिफ्रेस डाइट तथा आर्थिक सहयोग उपलब्ध गराई कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण योगदान पुर्याउनुहुने सनसाइन सेकेन्डरी इङ्ग्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक बद्री प्रसाद रिजालप्रति आयोजकले विशेष आभार व्यक्त गरेको छ। शान्तिचोक युवा समूहका संरक्षक लल्कु सहनी , नेपाल रेडक्रस सोसाइटीका स्वास्थ्यकर्मी तथा कार्यसमिति पदाधिकारीहरू, शान्तिचोक युवा समूहका सल्लाहकार, पदाधिकारी, सदस्यहरू, स्थानीय बुद्धिजीवी तथा शान्तिचोकवासीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै शान्तिचोक युवा समूहका अध्यक्ष सन्तोष महत (स्यान्ट्रो) ले रगत अभावका कारण धेरै बिरामीले समयमै उपचार नपाउने अवस्था सिर्जना भइरहेका बेला समाजप्रतिको उत्तरदायित्व वहन गर्दै समूहले रक्तदान कार्यक्रम आयोजना गरेको बताउनुभयो। उहाँले रक्तदान जीवनदान भएकाले स्वस्थ व्यक्तिलाई नियमित रूपमा रक्तदान गर्न आग्रह गर्नुभयो। कार्यक्रमको प्रारम्भमा शान्ति चौकी समूहका सचिव गोविन्द श्रेष्ठ ले स्वागत मन्तव्य व्यक्त गरेका थिए । ।
शान्तिचोक युवा समूहले सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखी आगामी दिनमा पनि यस्ता मानवीय तथा सामाजिक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने प्रमुख अतिथि, विशेष अतिथि, अतिथिगण, सहयोगी संस्था, नेपाल रेडक्रस सोसाइटी, सञ्चारकर्मी, स्वयंसेवक, स्थानीयवासी तथा विशेषगरी अमूल्य रगत दान गर्नुहुने सम्पूर्ण ५१ जना रक्तदाताप्रति शान्तिचोक युवा समूहले हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।