सोनु साह
विराटनगर । कोशी अस्पतालको जग्गा अतिक्रमण गरेर निर्माण गरिएका सटरहरू खाली गर्न सुरु भएको छ । अस्पताल प्रशासनले सात दिने अल्टिमेटम दिएपछि विभिन्न संघसंस्थाले सटर खाली गर्न थालेका हुन् । अस्पतालको स्वामित्वमा रहेको बहुमूल्य जग्गामा वर्षौंदेखि विभिन्न संस्थाले संरचना निर्माण गरी सटर भाडामा लगाएर आम्दानी गर्दै आएका थिए । अस्पताललाई आफ्नै पूर्वाधार विस्तारका लागि जग्गा आवश्यक परेपछि प्रशासनले पटक–पटक अतिक्रमण हटाउन सूचना जारी गरेको थियो। तर राजनीतिक पहुँचका आधारमा संरचना खाली गर्न आनाकानी हुँदै आएको अस्पतालको भनाइ छ ।


गत असार २१ गते गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले कोशी अस्पताल क्षेत्रको स्थलगत अनुगमन गर्दै अतिक्रमित संरचना ७ दिन भित्र हटाउन निर्देशन दिएका थिए । त्यसपछि अस्पताल प्रशासनले सात दिनभित्र संरचना खाली गर्न सार्वजनिक सूचना जारी गरेको थियो। उक्त सूचनाको समयसीमा सोमबार सकिँदै छ ।

कोशी अस्पतालका सूचना अधिकारी नवराज लुइँटेलका अनुसार विराटनगर–७ स्थित अस्पताल चोकमा रहेको अस्पतालको जग्गामा नेपाल रेडक्रस सोसाइटी (ब्लड बैंक), नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरेका छन् । ती संस्थाले ३० भन्दा बढी सटर बनाएर लामो समयदेखि भाडा उठाउँदै आएका छन् ।

उनका अनुसार नेपाल क्षयरोग निवारण संस्थाले करिब ६ कट्ठा ८ धुर जग्गा वर्षौंदेखि प्रयोग गर्दै आएको छ भने नेपाल रेडक्रस सोसाइटीले करिब दुई कट्ठा जग्गामा संरचना निर्माण गरी सटर भाडामा लगाएको छ। गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले पनि अस्पतालको जग्गामा सटर निर्माण गरेर भाडा उठाउँदै आएका छन्।

यता नेपाल क्षयरोग निवारण संस्थाले भने आफूले तीन कट्ठा जग्गामा मात्रै क्षयरोग अस्पताल (टीबी अस्पताल) निर्माण गरेको दाबी गरेको छ ।
अस्पताल प्रशासनका अनुसार सटरहरू सोमबारदेखि डोजर प्रयोग गरेर हटाइनेछ । तर नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर र नेपाल रेडक्रस सोसाइटीका मुख्य भवन भने तत्काल नभत्काइने जनाइएको छ । प्रशासनले हाल भाडामा सञ्चालनमा रहेका अतिक्रमित सटरहरू हटाउने कामलाई प्राथमिकता दिएको जनाएको छ ।