विराटनगर । आफ्नै निवास विराटनगर–८ मधुमाराबाट असार १३ गते पक्राउ परेका अभिषेक गिरी विरुद्ध उजुरी दिनेको संख्या दैनिक बढिरहेको प्रहरीले दावी गरेको छ । मोरङका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक कबित कटुवालका अनुसार चालकदेखि, व्यवसायी र उद्योगीसम्मले गिरी विरुद्ध उजुरी लेखाइरहेका हुन् ।
मोरङ कारागारका कैदीबन्दीलाई वितरण गरिएको भत्ता असुलेको आरोपमा उनी मोरङ प्रहरीको नियन्त्रणमा परेका थिए । अहिले उनी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को अनुसन्धानमा रहेका छन् । अनुसन्धानमा गिरी ठूलो आर्थिक चलखेल र संगठित असुली सञ्जालसँग जोडिएको खुल्दै गएको हो । एसपी कटुबालका अनुसार अहिले प्रमाण संकलनको कार्य धमाधम भइरहेको छ । त्यस बाहेक गिरीको मारमा परेर पनि कानुनी उपचार खोज्न नसक्नेबाट जाहेरी लिने कार्य भइरहेको छ । मोरङ प्रहरीको हिरासतमा १० दिन अनुसन्धानमा रहेका गिरीलाई उच्च अदालत विराटनगरले असार २३ गते हाजिरी जमानीमा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । सोहि आदेश बमोजिम गत सोमबार उनी जिल्ला अदालतबाट छुट्न लागेको बेला सीआईबीको नियन्त्रणमा परेका थिए ।
हेटौंडाका निर्माण व्यवसायी सुभाष श्रेष्ठको जाहेरीका आधारमा सिआइबीले नियन्त्रणमा लिएर गिरी विरुद्ध ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । गिरीले श्रेष्ठमाथि अत्याचार गरेको खुल्दै गएको छ । त्यस बाहेक बैंक कारोबार, सम्पत्ति हस्तान्तरण, जबर्जस्ती नामसारी, धम्की तथा आर्थिक असुली जस्ता विवरण प्रहरीसमक्ष पुगिरहेका छन् ।
२०७९ सालमा कैद सजाय पूरा गरेर छुटेका गिरीले बाहिर बसेर पनि कारागारभित्रको आर्थिक गतिविधिमाथि नियन्त्रण कायम राख्दै आएका थिए । कैदीबन्दीले बनाएका मुढा र गलैंचा बिक्रीबाट आएको रकम प्रत्यक्ष गिरी र उनका सहयोगीहरूको खातामा जाने गरेको भेटिएको हो ।
मोरङ कारागारमा हाल करिब एक हजार दुई सय कैदीबन्दी छन् । प्रहरीले कारागारभित्र सञ्चालित टेलिफोन सेवा, मेस सञ्चालन, दैनिक उपभोग्य सामग्रीको आपूर्ति, कैदीबन्दीको श्रमबाट हुने आम्दानी र अन्य आर्थिक गतिविधिमा समेत अनियमितता भएको आशंकामा अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रहरीको अर्को चासो गिरीको सम्पत्तिमाथि केन्द्रित छ । प्रारम्भिक अनुसन्धानले पछिल्ला दुई वर्षमै उनले विभिन्न जिल्लामा कम्तीमा नौ स्थानमा घडेरी खरिद गरेको देखाएको छ । काठमाडौंको बूढानीलकण्ठ, मोरङको कटहरी, बबियाबिर्ता, विराटनगर तथा धनकुटामा रहेका अधिकांश घडेरी श्रीमतीको नाममा रहेको प्रहरीले जनाएको छ ।