विराटनगर। धरान फिटनेस क्लबको आयोजनामा आगामी साउन १७ गते धरान–१८ स्थित दशेरा भवनमा ‘राजभगत क्लासिक बडीबिल्डिङ च्याम्पियनसिप–२०८३’ आयोजना हुने भएको छ। प्रतियोगिताको छनोट प्रक्रिया साउन १६ गते सम्पन्न गरिने आयोजकले प्रेस विज्ञप्ति मार्फत जनाएका छन् ।
स्वर्गीय राजभगत प्रधानाङ्गको स्मृतिमा आयोजना हुन लागेको प्रतियोगितामा प्रदेश तथा राष्ट्रिय स्तरका खेलाडीहरूको सहभागिता रहनेछ। प्रतियोगितामा आयोजक, खेलाडी, राष्ट्रिय खेलाडी, उपमहानगरपालिकाका प्रतिनिधि, सुनसरी बडीबिल्डिङ संघका पदाधिकारी तथा अन्य सहयोगी संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहने बताइएको छ।
आयोजकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य युवाहरूमा स्वास्थ्य, अनुशासित र सक्रिय जीवनशैलीको विकास गर्नु, बडीबिल्डिङ खेलप्रति आकर्षण बढाउनु तथा खेलमार्फत सामाजिक सद्भाव र सकारात्मक सोचको प्रवर्द्धन गर्नु रहेको छ। साथै कुलतमा फसेका युवालाई खेलतर्फ आकर्षित गर्दै बेरोजगारी न्यूनीकरण र प्रतिभाशाली खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म परिचित गराउने लक्ष्य पनि राखिएको छ। धरानमा पहिलो पटक प्रदेशस्तरीय बडीबिल्डिङ प्रतियोगिता उच्च पुरस्कार राशिसहित आयोजना हुन लागेको आयोजकले जनाएका छन् । प्रतियोगितामा प्रदेश नम्बर १ (कोशी प्रदेश) का खेलाडी तथा विदेशमा बसोबास गरिरहेका नेपाली खेलाडीले समेत सहभागिता जनाउन पाउनेछन्। राष्ट्रिय स्तरका उपाधि विजेता खेलाडीहरू भने प्रतियोगितामा सहभागी हुन नपाउने नियम रहेको छ। प्रतियोगिताको पुरस्कार राशिअन्तर्गत प्रथम हुने खेलाडीले ३ लाख रुपैयाँ, दोस्रोले २ लाख रुपैयाँ, तेस्रोले १ लाख रुपैयाँ, चौथोले ७५ हजार रुपैयाँ, पाँचौँले ५० हजार रुपैयाँ र छैटौँले २० हजार रुपैयाँ प्राप्त गर्नेछन्। साथै विभिन्न तौल समूहका उपविजेताहरूलाई समेत नगद पुरस्कार प्रदान गरिने आयोजकले प्रेस विज्ञप्तिमा बताए।
को हुन् राजभगत प्रधानाङ्ग?
राजभगत प्रधानाङ्ग नेपालको बडीबिल्डिङ तथा भारोत्तोलन क्षेत्रका अग्रणी व्यक्तित्वमध्ये एक मानिन्छन्। वि.सं. २०११ साल मंसिर २९ गते चैनपुरमा जन्मिएका प्रधानाङ्गले धरानलाई आफ्नो कर्मथलो बनाएका थिए। नेपाल बैंक लिमिटेड धरान शाखामा कार्यरत रहँदा उनी धरानका सम्मानित व्यक्तित्वका रूपमा परिचित थिए। वि.सं. २०३७ र २०३९ सालमा राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको भारोत्तोलन प्रतियोगितामा उनले ८२.५ केजी तौल समूहमा नेपालका लागि कीर्तिमान कायम गरेका थिए। खेल क्षेत्रको अध्ययनका लागि उनले सोभियत संघको मस्कोमा समेत अवसर पाएका थिए। खेल क्षेत्रमा योगदान पुर्याएबापत उनी विभिन्न राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका थिए। प्रधानाङ्गले धरानमा फिजिकल फिटनेस सेन्टर सञ्चालन गर्दै बडीबिल्डिङ खेललाई पूर्वाञ्चलमा व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए। उनले एथलेटिक्सका विभिन्न विधामा पनि नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका थिए। कोरोना महामारीका समयमा वि.सं. २०७७ साल साउन १० गते उनको निधन भएको थियो। उनको योगदानको सम्मानस्वरूप अहिले उनको नाममा ‘राजभगत क्लासिक बडीबिल्डिङ च्याम्पियनसिप’ आयोजना गर्न लागिएको आयोजकले जनाएको हो।