प्रेम देवान
विराटनगर । विराटनगर महानगरपालिकाका नगर प्रहरी तथा सर्प उद्धारकर्मी शम्भु घिमिरेले एकैदिन १९ वटा सर्पको उद्धार गर्दै नयाँ कीर्तिमान कायम गरेका छन् । गर्मी र वर्षायामसँगै सर्पको जोखिम बढिरहेका बेला उनले विराटनगरका विभिन्न स्थानबाट विषालु र कमविषालु गरी १९ वटा सर्प सुरक्षित रूपमा उद्धार गरेका हुन् । सबैभन्दा चकित पार्ने घटना विराटनगर–१० स्थित भूमि प्रशासन चोकमा रहेको कम्लेश अग्रवालको घरमा भयो। घरको पूजाकोठाबाट एकैपटक १० वटा विषालु कालो गोमन (कोब्रा) का बच्चा फेला परेपछि परिवार त्रसित बनेको थियो। स्थानीयको खबर पाएलगत्तै पुगेका घिमिरेले ती सबै सर्पलाई सुरक्षित रूपमा नियन्त्रणमा लिए ।
यसैगरी, उनले विराटनगरका अन्य छ स्थानबाट थप नौ वटा सर्प उद्धार गरेका छन्। । विराटनगर–४ एयरपोर्ट मोड उत्तरबाट एउटा करेन्ट, विराटनगर–३ ढाट क्षेत्रबाट दुई वटा धामन, विराटनगर–१८ फोक्साबाट एउटा विषालु गोमन, विराटनगर–१८ जहदा कालाबन्जारस्थित एक घरबाट भाले–पोथी दुई वटा गोमन, विराटनगर–३ राजबंशी टोलबाट एकवटा तथा विराटनगर–१४ बयरबन्नाबाट दुई वटा धामन उद्धार गरिएको घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार यो अहिलेसम्मकै एकैदिनमा गरिएको सबैभन्दा धेरै सर्प उद्धार हो। उद्धार गरिएका सबै सर्पलाई आवश्यक प्रक्रिया पूरा गरी डिभिजन वन कार्यालय, मोरङमा बुझाइएको उनले बताए ।
वर्षायाममा बढ्छ सर्पको जोखिम
गर्मी र वर्षायाममा सर्प बासस्थानबाट बाहिर निस्कने भएकाले घर, आँगन तथा गोठमा सर्प देखिने घटना बढ्ने गरेको घिमिरे बताउँछन्। विराटनगर क्षेत्रमा विशेषगरी गोमन (कोब्रा) बढी भेटिने गरेको उनको अनुभव छ। उनका अनुसार पछिल्ला वर्षहरूमा यस क्षेत्रमा दुर्लभ प्रजातिका सर्पसमेत फेला पर्न थालेका छन्। मोनोकल्ड स्पिटिङ कोब्रा, चन्द्र नाग तथा अन्य केही नयाँ प्रजातिका सर्प भेटिन थालेकाले थप सतर्कता आवश्यक रहेको उनले बताए ।
उद्धारसँगै जनचेतनामा पनि सक्रिय
शम्भु घिमिरे केवल सर्प समात्ने उद्धारकर्मी मात्र होइनन, सर्प संरक्षण र जनचेतना अभियानका अभियन्ता पनि हुन् । उनी सर्प देख्नेबित्तिकै नमार्न, सुरक्षित दूरी कायम गर्न र तत्काल उद्धार टोलीलाई खबर गर्न आग्रह गर्छन्। यसका लागि उनले आफ्नो सम्पर्क नम्बरसमेत सार्वजनिक गर्दै सर्वसाधारणलाई आवश्यक परे तुरुन्त सम्पर्क गर्न अनुरोध गरेका छन् ।
उनले सर्पदंशका घटनामा अझै पनि धामी–झाँक्री र अन्धविश्वासतर्फ लाग्ने प्रवृत्र् िरहेको भन्दै त्यसलाई पूर्ण रूपमा त्याग्न आग्रह गरेका छन् । सर्पले टोकेमा समय खेर नफाली तत्काल नजिकको स्वास्थ्य संस्थामा पुगेर उपचार गराउनु नै जीवन बचाउने सबैभन्दा प्रभावकारी उपाय भएको उनको भनाइ छ । घर वरिपरि सफाइ राख्ने, झाडी हटाउने, जुत्ता वा बुट लगाउनु अघि भित्र जाँच गर्ने, राति टर्च प्रयोग गर्ने तथा झुलभित्र सुत्ने जस्ता सामान्य सावधानी अपनाए सर्पदंशको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिने उनले सुझाव दिए ।
बढ्दो विश्वास, बढ्दो सहअस्तित्व
पछिल्ला केही वर्षयता विराटनगर महानगरपालिका र आसपासका क्षेत्रमा सर्प देखिने घटना बढ्दै गए पनि नागरिकको सोचमा सकारात्मक परिवर्तन आएको देखिन्छ। पहिले सर्प देख्नेबित्तिकै मार्ने प्रवृत्र् िभए पनि अहिले अधिकांश मानिसले उद्धारकर्मी शम्भु घिमिरेलाई खबर गर्न थालेका छन्। । यसले मानिस र वन्यजन्तुबीच सहअस्तित्वको चेतना बढ्दै गएको संकेत गरेको छ। सर्प पनि वातावरणीय सन्तुलनका लागि महत्वपूर्ण जीव भएकाले अनावश्यक रूपमा नमारेर सुरक्षित उद्धार गरी प्राकृतिक बासस्थानमा फर्काउनु नै उचित उपाय भएको घिमिरेको भनाइ छ ।