विराटनगरमा जोगबनीबाट आउँछन् भीख माग्न, साँझ फर्कन्छन्

<span class='c1'>विराटनगरमा जोगबनीबाट आउँछन् भीख</span> <span class='c2'>माग्न, साँझ फर्कन्छन्</span>

सोनु साह
विराटनगर । नेपालकै प्रमुख औद्योगिक, व्यापारिक तथा आर्थिक केन्द्रमध्ये एक विराटनगर यतिबेला अर्को सामाजिक समस्यासँग जुधिरहेको छ। उद्योग, व्यापार, शिक्षा र स्वास्थ्य सेवाको केन्द्रका रूपमा परिचित विराटनगरका मुख्य सडक, बजार क्षेत्र, मठमन्दिर, बसपार्क, अस्पताल, विद्यालय तथा सार्वजनिक स्थलहरूमा पछिल्ला केही वर्षयता भिख माग्ने बालबालिका, महिला, वृद्ध तथा अपांगता भएका व्यक्तिहरूको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ।

विशेषगरी बिहानदेखि साँझसम्म हिमालय रोड, महेन्द्र चोक, ट्राफिक चोक, बसपार्क, कोशी अस्पताल आसपास, मन्दिर परिसर, बजार क्षेत्र तथा भीडभाड हुने भाटभटेनी सुपरमार्केट वरिपरि भिख माग्ने समूहको बढेको स्थानीयको गुनासो छ। सर्वसाधारणको भनाइमा, अधिकांश व्यक्ति भारतको बिहार राज्यस्थित जोगबनी क्षेत्रबाट दैनिक रूपमा समूह बनाएर विराटनगर आउने गरेका छन्।
नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै उनीहरू बिहान रानी–जोगबनी नाका हुँदै विराटनगर प्रवेश गर्छन्। दिनभरि शहरका विभिन्न स्थानमा पैसा मागेपछि साँझ पुनः जोगबनी फर्किने गरेको स्थानीयले बताएका छन्।

पैसा नदिँदा दुर्व्यवहार
स्थानीय व्यापारी तथा सर्वसाधारणका अनुसार भिख माग्ने अधिकांश समूहले पैसा माग्ने मात्र होइन, नदिँदा विभिन्न प्रकारका दबाबसमेत दिने गरेका छन्। सडकमा हिँडिरहेका मानिसलाई रोक्ने, मोटरसाइकल तथा सवारीसाधन रोक्न खोज्ने, हात समात्ने, खुट्टा समातेर पैसा माग्ने, भावुक कथा सुनाउने, पैसा दिन अस्वीकार गरेपछि गाली गर्ने तथा हातमा भएको पानी शरीरमा फाल्ने जस्ता गतिविधि बढ्दै गएको स्थानीयको भनाइ छ।

कतिपयले साना बालबालिकालाई अगाडि सारेर सहानुभूति बटुल्ने प्रयास गर्ने गरेको पनि स्थानीयले बताएका छन्।

हिमालय रोडमा भेटिएको आठ जनाको समूह ?
आवर विराटनगरका सञ्चारकर्मीले हिमालय रोडमा भिख मागिरहेको आठ जनाको समूहसँग लामो कुराकानी गरेका थिए। सञ्चारकर्मी मोटरसाइकल पार्क गर्नेबित्तिकै समूहका सबै सदस्य एकैपटक वरिपरि आए। दस रुपैयाँ दे दो ! दस रुपैयाँ दे दो, उनीहरू सबैले एकैसाथ भने।

सञ्चारकर्मीले केही समय कुराकानी गरेपछि मात्र पैसा दिने प्रस्ताव राखेपछि उनीहरू केही समय बसेर कुरा गर्न तयार भए। सुरुमा नेपाली भाषामा सोधिएका अधिकांश प्रश्न उनीहरूले बुझेनन्। त्यसपछि हिन्दी भाषामा कुराकानी सुरु भयो।

पेट पाल्न बाध्य भएर माग्न आएका हौँ
समूहमा रहेकी करिब १५ वर्षीया एक किशोरीले आफूहरू भारतको जोगबनी नजिक बस्ने मुस्लिम समुदायको परिवार सदस्य भएको बताइन्। उनका अनुसार बिहान उनीहरूको आमा सबैलाई खाना खुवाएर सिटी सफारीमा राखी विराटनगर ल्याउने गर्छिन्। आमा हामीलाई यहाँसम्म ल्याउनुहुन्छ। त्यसपछि उहाँ घर फर्किनुहुन्छ। हामी साँझ पैसा जम्मा भएपछि फेरि जोगबनी जान्छौँ, उनले भनिन्। उनका अनुसार परिवारको मुख्य समस्या उनका बुबा हुन्।

बुबा दिनभरि रक्सी खानुहुन्छ। काम गर्नुहुन्न। घरमा आएर सबैलाई कुट्नुहुन्छ। कहिलेकाहीँ भोकै सुत्नुपर्ने अवस्था हुन्छ। त्यसैले हामी पैसा माग्न बाध्य भएका हौँ। उनले प्रहरीमा पटक–पटक जानकारी गराए पनि बुबाको व्यवहारमा कुनै परिवर्तन नआएको दाबी गरिन्।

आफ्नो परिचय खुलाउन चाहेनन्
सञ्चारकर्मीले पटक–पटक नाम, बुबाको नाम र अन्य विवरण सोध्दा उनीहरूले खुलाउन चाहेनन्। उनीहरूले आफूहरू सबै एउटै टोलका आफन्त, दाजुभाइ–दिदीबहिनी तथा काका–काकीका छोराछोरी भएको मात्र बताए। हामी सबै आफन्त हौँ। जोगबनीमा घर छ, उनीहरूको भनाइ थियो।

चार वर्षदेखि विराटनगरमै
किशोरीका अनुसार उनी र उनकी बहिनी विगत चार वर्षदेखि नियमित रूपमा विराटनगरमा पैसा माग्दै आएका छन्। हामी दुई जना त चार वर्षदेखि आउँछौँ। अरू भाइबहिनी कोही एक वर्षदेखि आएका छन्, कोही दुई वर्षदेखि। कहिलेकाहीँ उनीहरू अन्य शहर पनि जाने गरेको भए पनि विराटनगरलाई नै मुख्य स्थान बनाएको उनले बताइन्।

दिनको पाँच सय रुपैयाँसम्म आम्दानी
उनका अनुसार आफू र बहिनीले मात्रै दिनमा करिब पाँच सय रुपैयाँ कमाउने गरेका छन्। कुनै दिन पाँच सयभन्दा बढी हुन्छ। कुनै दिन कम हुन्छ। सबैको उस्तै हुँदैन। उनले थपिन्, हामीले दुई वर्षअघि पैसा बचाएर फूल किनेर बेच्ने काम सुरु गरेका थियौँ। तर बुबाले सबै पैसा चोरेर रक्सीमा खर्च गरिदिनुभयो। त्यसपछि फेरि यही काम गर्नुपर्यो।

पाँच वर्षका बालबालिकासमेत सडकमा
समूहमा पाँच वर्षदेखि १५ वर्षसम्मका बालबालिका थिए। उनीहरूमध्ये अधिकांश किशोरी थिए। उनीहरू एकै ठाउँमा नबस्ने, शहरका विभिन्न भागमा छुट्टाछुट्टै घुमेर पैसा माग्ने र साँझ पुनः भेट भएर रकम गन्ने गरेको देखियो।
स्थानीयका अनुसार उनीहरूले घर–घरमा पुगेर पैसा माग्ने उनिहरुले भारतमा एक दुई रुपैयामात्र दिने गरेको त्यही भएर नेपाल आएर माग्ने गरेको बताउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्