प्रेम देवान\नेवा लिम्बु
विराटनगर । आकासे निलो र सेतो रङको मिश्रणमा बुनिएको कलात्मक ढाकाको इस्टकोटसहित सजिएका महिला तथा पुरुष कर्मचारीहरू । अनि उनीहरुको अनुहारमा एउटा बेग्लै गर्व र उत्साह झल्किरहेको थियो । सबै कर्मचारी आफ्नो काममा व्यस्त ।
दृष्य हो अरु कहिको नभएर हाम्रै कोशी प्रदेश सरकार अन्तर्गतको विराटनगरमा रहेको सामाजिक विकास मन्त्रालय भित्रको । अन्यदिनको भन्दा आज स्मार्ट र भदामी पनि देखिएका छन् । कोही कोही त ढाका टोपी अनि कलात्मक ढाकाबाट बुनिएको आईकोटमा सजिएका कर्मचारी । हेर्दा अन्यदिनको भन्दा अलिक फरक लुक्स । कोसी प्रदेशकै सीप र उत्पादनसँग जोडिएको ढाका, खाँडी र अल्लोको कपडामा कर्मचारीहरु आफ्नो काममा व्यस्त भईरहँदा साच्चिकै एउटा कर्मचारीमा हुनुपर्ने विशेषताको झल्को दिईरहेको थियो ।


खास गरी कोसी प्रदेश सरकारले आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम मार्फत ल्याएको नवप्रवर्तनकारी निर्णयलाई आत्मसात् गर्दै सामाजिक विकास मन्त्रालयका कर्मचारीहरू हिजो मंगलबारबाट नै सजिएर मन्त्रालय आउन थालेका हुन् । हप्तामा दुई दिन स्थानीय उत्पादनको पोसाक लगाउने प्रतिबद्धताका साथ मन्त्रालयमा अब काम गर्न आउने तय भएको हो ।



कोसी प्रदेशको पहिचान, श्रम र मौलिकतालाई शासकीय जिम्मेवारीसँग जोड्ने ऐतिहासिक सुरुवातले एउटा राम्रो सन्देशको प्रवाह दिलाउन खोजेको छ भन्दा फरक नपर्ला । यो नयाँ पोसाकको प्रदर्शन नभई स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने कामको सुरुवात भएको मन्त्रालयका कर्मचारीहरू बताउँछन् । साथै आफ्नो स्थानिय ठाँउ र प्रदेशमा उत्पादन भएका पोशाकहरुको प्रवद्धन हुनेभएकाले पनि प्रदेश सरकारले थालेको यो अभियान सकारत्मक भएको उनीहरुको बुझाई छ ।
स्थानीय उत्पादनलाई बढावा दिने उदेश्यका साथ कोशी प्रदेश सरकारले आफ्नो कर्मचारीहरुलाई स्थानीय स्तरमा उत्पादित पोशाक लगाउने अनिवार्य व्यवस्था सुरु गरेसँगै सामाजिक विकास मन्त्रालयलले भने पहिलो सुरुवात गरेको छ । सामाजिक विकास मन्त्रालयले पूर्वाधारका विकासको निर्माण मात्र गर्दैन ,मन्त्रालयले आफ्नै ठाँउका उप्पादन भएका वस्तुको प्रयोग आफ्नै सिपको सम्मान, आफ्नै सस्कृतिको संरक्षण गर्ने काम पनि गर्दै आएको सामाजिक विकास मन्त्री रामप्रसाद महतोले बताउनुभयो । साथै उहाले कर्मचारीले मात्र हैन अन्य प्रदेशवासीले पनि आफ्नो ठाँउमा भएका स्थानिय वस्तुहरुलाई प्रवद्धन गर्न महतोले आग्रह गर्नुभयो ।
मन्त्रालय कर्मचारीका कर्मचारीहरुले कोशी प्रदेश कै एक महिला उद्यमीबाट खरिद गरिएको ढाकाको कपडाबाट बनाईएको ईस्टकोट लगाउन थालेका हुन् । मौलिक उत्पादनको प्रयोग, स्थानीय सिपको सम्मान र मनोबल बढाउने लक्क्ष लिएर कोशी प्रदेश सरकारले थालेको यो कार्यमा मन्त्रालयका सचिवदेखी सम्पुर्ण कर्मचारीले ड्रेसकोटको सुरुवात गरिएको सामाजिक विकास मन्त्रालयका प्रशासन तथा योजना महाशाखा प्रमुख गोपाल प्रसाद दाहालले बताउनुभयो ।
सामाजिक विकास मन्त्रालयका कर्मचारीले पोसाकसहितको फोटो सार्वजनिक गरेपछि कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यस कदमलाई स्थानीय उत्पादन प्रवद्र्धनको क्षेत्रमा ‘सानो तर अत्यन्तै महत्त्वपूर्ण’ कामको रूपमा चित्रण गरेका छन् । उनले आफ्नो सामाजिक संजालमा फेशबुकमा पोष्ट गर्दैै भनेका छन्, यो ब्यबस्थाबाट कोशी प्रदेशका ढाका , खाडी र अल्लो लगायतको कपडाको घरेलु उध्योगलाई प्रोत्साहन पुग्नेछ । हुन त यो अभियानलाई दिगो र प्रभावकारी बनाउन सरकारले निर्देशन मात्र जारी गरेको छैन। कर्मचारीहरूलाई वार्षिकरूपमा प्रतिव्यक्ति ५ हजार ५ सय रुपैयाँ अतिरिक्त पोसाक भत्ता थप गरेर यसलाई अनिवार्य बनाएको छ । यस व्यवस्थाले प्रदेशभित्र वर्षौँदेखि ओझेलमा परेका रैथाने बुनाइ, घरेलु उद्यमी र प्रदेशकै सीपलाई बजारको नयाँ ढोका खोल्ने निश्चित देखिएको छ ।