विराटनगर । विराटनगरमा विगत ३२ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ऐतिहासिक जगन्नाथ रथयात्रा बिहीबार भव्य रूपमा सम्पन्न भएको छ । सयौं श्रद्धालु भक्तजनको सहभागितामा निकालिएको रथयात्राले विराटनगरको मुख्य बजार क्षेत्र धार्मिक उल्लास र भक्तिमय वातावरणले भरिएको थियो।
विराटनगर–६ स्थित द्धारिका साई मन्दिरको आयोजनामा तथा विश्व हिन्दु परिषद नेपालको व्यवस्थापनमा अपराह्न ४ बजेदेखि विशेष पूजाआजा, आरती र वैदिक मन्त्रोच्चारणपछि रथयात्रा सुरु गरिएको हो ।

रथयात्राको उद्घाटन कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले पूजा–अर्चना गरी रथ तानेर गरेका थिए। उद्घाटनपछि भगवान् जगन्नाथ, बलभद्र र सुभद्राको प्रतिमा राखिएको रथलाई श्रद्धालुहरूले उत्साहपूर्वक तानेका थिए ।
मन्दिरबाट सुरु भएको रथयात्रा धरान रोड, बरगाछी हुँदै राधाकृष्ण मन्दिर पुगेपछि मुख्य सडक (मेनरोड) परिक्रमा गर्दै पुनः द्धारिका साई मन्दिरमा पुराएर समापन गरिने भएको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले जगन्नाथ रथयात्रा धार्मिक आस्थाको मात्र नभई नेपाली मौलिक संस्कृति, सामाजिक एकता र सद्भावको प्रतीक भएको बताए। यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमले समाजमा सकारात्मक ऊर्जा फैलाउने, पर्यटन प्रवद्र्धन गर्ने र नयाँ पुस्तालाई आफ्नो संस्कृतिसँग जोड्ने काम गर्ने उल्लेख गर्दै उनले प्रदेश सरकारले धार्मिक पर्यटनको विकास र सांस्कृतिक सम्पदाको संरक्षणमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा आयोजक संस्थाका पदाधिकारीहरूले ३२ वर्षदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको रथयात्रा विराटनगरको धार्मिक पहिचानका रूपमा स्थापित भइसकेको उल्लेख गर्दै आगामी वर्षहरूमा अझ व्यवस्थित र भव्य रूपमा आयोजना गरिने बताएका थिए ।