बिराटनगर। कोलकाताबाट विराटनगर आईसीपीसम्म सिधा कार्गो रेल सेवा सञ्चालन भएसँगै रेलमार्फत हुने मालसामान ढुवानी व्यवस्थापनमा नयाँ युगको सुरुवात भएको छ।
यस ऐतिहासिक उपलब्धिमा नेपालमै विकसित ईआरपी लजी पार्कले महत्वपूर्ण भूमिका खेलेको छ। यो नेपालकै पहिलो रेल कार्गो टर्मिनल व्यवस्थापन सफ्टवेयर हो, जसले कार्गो सञ्चालनलाई व्यवस्थित, पारदर्शी र डिजिटल बनाउन सहयोग गर्दै आएको छ। हाल ईआरपी लजी पार्क नेपालका चारवटा एकीकृत जाँच चौकी (आईसीपी) मा सफलतापूर्वक सञ्चालनमा रहेको छ भने विराटनगर आईसीपीको रेल कार्गो व्यवस्थापनमा समेत प्रयोग भइरहेको छ। नेपालमा सफल कार्यान्वयनपछि यो नेपाली प्रविधिलाई भारतको कोलकातास्थित निजी बन्दरगाहहरूमा विस्तार गर्ने विषयमा समेत छलफल भइरहेको जनाइएको छ।
ईआरपी लजीपार्कको परिकल्पना २९ वर्षीय युवा उद्यमी तथा नेपाली युवा उद्यमी मंचका सदस्य ऋषि साहले गरेका हुन्। विकास टोलीमार्फत तयार गरिएको यो प्रणाली नेपाली नवप्रवर्तन र प्रविधि क्षमताको उदाहरण बनेको छ। नेपालको व्यापारिक पूर्वाधारलाई प्रविधिमैत्री बनाउने लक्ष्यसहित अघि बढिरहेको ईआरपी लजीपार्कले भविष्यमा अन्तर्राष्ट्रिय बजारमा समेत नेपाली प्रविधिको पहिचान स्थापित गर्ने लक्ष्य राखेको छ।