विराटनगर । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी तथा आपराधिक लाभमा विराटनगर–८ का ४८ वर्षीय अभिषेक गिरीविरुद्ध अनुसन्धान गरिरहेको छ ।
गिरी विरुद्ध लागेकामध्ये श्रेष्ठ कन्स्ट्रक्सन सेवा प्रा.लि का सुवास श्रेष्ठलाई धम्क्याएर खाली चेकहरु लिएको र ती चेकमा आफूखुशी रकम भराएर बैंकमार्फत चेक अनादर (बाउन्स) गराएको आरोप समेत छन् । हुलाकी राजमार्ग अन्तर्गत मोरङको कटहरी गाउँपालिका भित्र ६ किलोमिटर दुरीको सडक अहिले पनि हिलाम्य छ । जुन श्रेष्ठ कम्पनीले निर्माण गर्ने सम्झौता गरेको थियो । निर्माणकै क्रममा गिरीले उप–निर्माण सम्झौतामार्फत जिम्मेवारी लिएपनि काम भएन । यहि ६ किलोमिटर दुरीको ठेक्का लिएपछि श्रेष्ठ बिरुद्ध आर्थिक अपराधका श्रृंखलामा गिरी हावी भएको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।
श्रेष्ठसँग लिएका खालीचेकहरुमध्ये पाँच करोड ४५ लाख ६० हजार ५०५ रुपिँया चन्द्रकुमार शाहको नाममा खिचिएको थियो । त्यो चेक बाउन्स भएपछि श्रेष्ठ विरुद्ध गिरीले उल्टै जिल्ला प्रहरी कार्यालय मोरङमा बैंकिङ कसुरको मुद्दा समेत हाल्न लगाएको आरोप समेत छ । त्यस बाहेक पनि खाली चेकहरु लिएकाले जुनसुकै बेला कानुनी संकट आउनेमा श्रेष्ठलाई डर उतिकै छ । श्रेष्ठको घर, गाडी, निर्माण क्षेत्रका केहि सामाग्री समेत गिरीको नाम र नियन्त्रणमा पुगिसकेको देखिन्छ । गुण्डागर्दीमा कहलिएका गिरीबाट पीडित श्रेष्ठ मात्रै नभई हेटौंंडाका जग्गा व्यवसायी बिनोदकुमार गुप्तामाथि पनि उतिकै वित्तिय अपराध गरेको देखिएको छ ।
पहुँचमा रहेका गिरीले विगतमा गरेको आर्थिक अपराधको यो पाटो अनुसन्धानमै रहेको छ । तर, त्यस बाहेक घरायसी प्रजोजनमा लागि आर्थिक लेनदेनको कारोबारमा चेक बाउन्सको मुद्दा आर्थिक अपराधको मुख्य माध्यम बनेको देखिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रका अनुसार लेनदेनमा ग्यारेन्टीको नाममा लिएका खाली चेक निर्दोष कारागार पठाउने माध्यम बन्दै गएका हुन् । प्रवक्ता समेत रहनु भएका मिश्रका अनुसार सानो कारोबारमा समेत ग्यारेन्टीका नाममा लिएका चेकमा मनलाग्दी रकम उल्लेख गर्ने अवस्थाले सामान्य नागरिकले दुःख बेहोर्नु परिरहेका छन् ।
प्रहरीकोमा आएका उजुरीमा प्रत्यक्ष नभई अप्रत्यक्ष जालो बनाएर समेत यसो गरिएको छ । प्रवक्ता मिश्रका अनुसार अभिषेक गिरीले श्रेष्ठसँग आफूसँगको कारोबार हुँदा समेत अर्को व्यक्तिको नामबाट चेक खिचाएर पीडितलाई धम्क्याए जस्तै अन्य थुप्रै घटना बाहिर आइरहेका छन् । उहाँका अनुसार मोरङको कटहरीमा एक महिलाको पाँच कठ्ठा जग्गा जसले नगद दियो, उसैको नाममा पास नगरेर अर्काको नाममा राखेको पाइएको छ । पहिले अर्को व्यक्तिको नाममा राखेको जग्गा पुनः फर्काएर पैसा दिनेको नाममा पास हुने गरेको छ । प्रवक्ता मिश्रका अनुसार यो कानुनमा आफूलाई इमान्दार साबित गर्ने मनसाय प्रेरित भएको कारोबार हो तर भित्रभित्रै भने अनुचित लेनदेन ।
अहिले यस्तो कारोबार गरेको उजुरी कटहरी गाउँपालिकाका पूर्व अध्यक्ष रामकुमार कामत विरुद्ध परेको छ । कामतले एकजना महिलालाई केहि रकम दिदाँ उनको जग्गा अन्य दुईजनाको नाममा पास गराएका थिए । त्यसपछि आफ्नो ऋण फिर्ता लिइसकेपछि पहिले जसको नाममा राखिएको थियो, त्यहाँबाट पनि अर्को कुनै व्यक्तिको नाममा लगेर आफ्नो नाममा फर्काएको घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार पछिल्लो तीनवर्षमा आर्थिक अपराधका घटना नसोचेको स्तरमा पुगेको देखिन्छ । गत आर्थिक वर्ष २०८२÷०८३ मा मात्रै ठगीमा २३७, बैकिङ कसुरमा ११५७, मिटरब्याज ४ र अनलाइन ठगीका १५ मुद्दा दर्ता भएका छन् । यी मुद्दामा प्रहरीले ३९८ जनालाई पक्राउ गरेको छ । त्यसमध्ये बैंकिङ कसुरका मात्रै २७४ रेका छन् । यस्तै ठगीका १२२ रहेका छन् । बैकिङ कसुरका मुद्दामा जालझेल गरेर ग्यारेन्टीको नाममा चेक लिने यता तमसुकका आधारमा नगद पनि असुल गर्ने अनि अन्त्यमा चेक बाउन्स गराएर पीडितलाई नै थुनाउने घटना धेरै भइरहेका छन् ।