विराटनगर । मोरङको सुन्दरहरैंचास्थित सुकुना माध्यमिक विद्यालयका तीन शिक्षक र एकजना चालक अहिले प्रहरी नियन्त्रणमा रहेका छन् । उनीहरुमाथि छात्रामाथि कार्यस्थल र विभिन्न सूचना आदानप्रदान गर्ने माध्यमहरुबाट यौनजन्य दुव्र्यवहार गरेको आरोप छ । इलाका प्रहरी कार्यालय बेलबारीले अनुसन्धान गरिरहेको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक राजीव गिरीका अनुसार उनीहरु विरुद्ध बालयौन दुव्र्यवहार कसूरमा अनुसन्धान भइरहेको छ । कक्षा कोठामा विद्यार्थीलाई पढाउनुपर्ने शिक्षकबाट अश्लील र अमर्यादित कार्यबाट लामोसमयदेखि छात्राहरु पीडित हुँदै आएपनि पछिल्लो समय घटना सार्वजानिक गर्ने साहस गरिएको हो । त्यसले सुकुनामात्रै नभई देशभरका विद्यालयमा शिक्षकबाट छात्रामाथि हुने यस्तै किसिमका गतिविधि रोक्न समेत सहयोग पुगेको छ । सुकुनापछि अहिले बुटबलमा समेत यस्तै प्रकारको घटना बाहिरिएको छ ।
विद्यालयका तीन शिक्षक र एक सवारी चालकलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय बेलबारीको संयुक्त टोलीले गत सोमबार बिहान विद्यालयका सवारी चालक ४० वर्षीय प्रदीप भट्टराई, ३० वर्षीय शिक्षक किशोरलाल गच्छदार, ३५ वर्षीय शिक्षक अबिरल मास्के र नृत्य शिक्षक भीमप्रसाद नेपाललाई नियन्त्रणमा लिएको थियो । सुकुनाको घटना जस्तै बुढीगंगा–३ स्थित जनप्रिय मा.वि. स्कुलका छात्राहरु समेत शिक्षकबाट पीडित भएको भन्दै स्थानीय प्रशासनको ढोका ढक्ढक्याउन आएका थिए गत आइतबार नै आएका थिए । कक्षा ८ का छात्राको उजुरीका आधारमा मोरङ प्रहरीले ती शिक्षकलाई अहिले बालयौन दुव्र्यवहार मुद्दामा अनुसन्धान गरिरहेको छ ।
यस अगाडी बाल यौन दुर्व्यवहारको मुद्दामा विराटनगरका एक जना शिक्षकलाई मोरङ जिल्ला अदालतले दोषी ठहर्याएको थियो । विराटनगर–२ सोमबारेस्थित जनता नमुना माध्यमिक विद्यालयका शिक्षक ओजेश भगतले समेत त्यहाँका छात्राहरुमाथि दुव्र्यवहार गरेपछि प्रहरीसँग सहयोग मागरिएको थियो । शिक्षक भगतलाई बाल यौन दुव्र्यवहारको मुद्दामा दोषी ठहर गरिएको छ । विराटनगर–२ का ५८ वर्षीय शिक्षक भगत अनिवार्य अवकाशमा जाने समय आउँदै गर्दा अपराधमा संलग्न भएका थिए । प्राथमिक तहका शिक्षक भगतले आफ्नै विद्यालयमा अध्ययनरत नाबालिकालाई यौनजन्य दुव्र्यवहार गर्ने गरेको आरोप थियो ।
शिक्षकले कक्षा कोठामा विद्यार्थीलाई पढाउन छोडेर बाटो ढुकेरै डार्लिङ भन्नुपर्ने तहसम्म पुगेपछि पीडित हुनेहरु तत्कालाई रातोपिरो बाहेक विकल्प देख्दैन थिए । तपीडित छात्राहरूले सामाजिक सञ्जालमा सार्वजनिक गरेका अडियो र म्यासेजका स्क्रिनसटहरूका अनुसार विद्यालयभित्र छात्राहरूले लामो समयदेखि असुरक्षित महसुस गरिरहेको देखिन्छ । तर, उनीहरुले बाहिर ल्याएको भने यो पहिलो पटक हो ।
छात्राहरूले यसअघि पनि विद्यालय प्रशासनलाई यस्ता दुर्व्यवहारबारे मौखिक र लिखित रूपमा सचेत गराएका थिए । कतिपय छात्राहरूले प्रधानाध्यापक र अन्य शिक्षकहरूलाई भेटेरै गुनासो गर्दा त्यसको सुनुवाई नभएको थियो । मोरङ प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले छात्राहरूमाथि भएको यौनजन्य दुर्व्यवहारको विषय अत्यन्त संवेदनशील रहेकाले अनुसन्धान प्रक्रियालाई गम्भीरतापूर्वक अघि बढाइएको जानकारी दिएका छन् । उनले यसमा पीडित भएकाहरु सबैले चासो राखेर प्रमाणहरु प्रहरीसम्म उपलब्ध गराउनु पर्ने बताए । प्रहरीले सुकुना मात्रै नभई अन्य विद्यालयहरुमा समेत यस्ता घटनामा पीडित भइसकेपनि भन्न नसक्नेहरु भएपनि बाहिर ल्याउन आग्रह गरेको छ ।