विराटनगर । सीमापार भारतीय बजारबाट सामान खरिद गरेर अवैध रुपमा भित्र्याउनेमाथि भइरहेको कडाईले धेरैलाई रिक्तो हात घर फर्कन बाध्य पारिरहेको छ । भारतीय बजार जोगबनीमा खरिद गरेर कुनै न कुनै जुक्तिमार्फत सामान भित्र्याउनेको पनि सशस्त्र पछिल्लो समय नियन्त्रणमा लिएर भन्सार दाखिला गरिरहेको छ ।
शुक्रबार मात्रै सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट हेडक्वाटर रानीले चारलाख ९ हजार २७५ रुपैँया बराबरको सामान नियन्त्रणमा लिएर भन्सारमा दाखिला गरेको छ । जसमा लत्ताकपडा २ लाख ७४ हजार ८००, मोटरपार्टस् ७० हजार, गहना २ हजार र कुकर तथा ग्यासका आइटम ४३ हजार २०० सयको छ । पछिल्लो समय सशस्त्रले सीमामा कडाई गरिरहेको छ । कडाई गरिएसँगै निरन्तर सामान पक्राउ गर्दै भन्सार बुझाउँदै आएको हो ।
पहिला सीमा क्षेत्रमा हुने सेटिङमा अहिले प्रहरी बाध्यताको निर्ममता अपनाइरहेको छ । गृहमन्त्री कुन बेला कसरी आफैं छड्केमा आइदिएलान् भन्ने सास्तीमा सीमा क्षेत्रमा केहि कसिलोपन देखिएको छ । अर्को कुरा विगतमा सशस्त्रमा बसेर सेटिङमा लाइन चलाउन दिनेहरु अहिले धमाधम हेडक्वाटर तानिरहेका छन् । त्यसैले सीमापार पुगेर ठूलो परिमाणमा मालवस्तु ल्याउनेहरुको खरिदारी रिक्तो हात घर फर्कन परिरहेको छ ।
अहिले खुल्ला सीमाबाट मात्रै हैन, भन्सार परिसरबाट समेत मालवस्तु भित्र्याउन सक्ने संभावनालाई सशस्त्रले निगरानी गरिरहेको छ । केहिदिन अगाडी विराटनगरका अकबर अलीको भन्सार जाँचपास भएको गाडी नियन्त्रणमा लिएर भन्सारमै फर्काइएको थियो । अलीले पाँचलाख ७५ हजार रुपैँया बुझाएर सामान र गाडी उकास्नु परेको थियो । त्यहाँ भन्सारका कर्मचारीका मिलेमतो पनि काम दिएको थिएन ।
सशस्त्र प्रहरीले मात्रै साउन लागेपछिको एक हप्तामा ४० लाख बढीको सामान नियन्त्रणमा लिएको अनुमान गरिएको छ । त्यस्तै नेपाल प्रहरीले समेत सीमा क्षेत्रबाट भित्रने सामान शंका लागेमा नियन्त्रणमा लिने गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण टंकीसिनवारी मोरङका प्रहरी उपरीक्षक गेहेन्द्र भण्डारीले कुनैपनि हालतमा सीमापार बजारबाट भन्सार नबुझाइकन भित्र्याउने सामान नियन्त्रणमा पर्ने बताएका छन् । उनले चाडपर्वमा व्यापार गर्ने उद्देश्य राखेर सामान खरिद गर्न जोगबनी वा पारीको कुनैपनि बजार नजाँन अनुरोध गरेका छन् ।