सोनु साह
विराटनगर । समयमै मनसुन सक्रिय भई पर्याप्त वर्षा भएपछि कोशी प्रदेशमा यस वर्ष धान रोपाइँ उल्लेख्य रूपमा बढेको छ। गत वर्षको तुलनामा हालसम्म करिब १२ प्रतिशतले बढी क्षेत्रमा धान रोपाइँ भएको प्रदेश सरकारको तथ्यांकले देखाएको छ।
उद्योग, कृषि तथा सहकारी मन्त्रालयका कृषि प्रसार अधिकृत अभिमन्यु अधिकारीका अनुसार कोशी प्रदेशमा धान खेती योग्य कुल २ लाख ७६ हजार ३ सय ८६ हेक्टर जमिन रहेको छ। तीमध्ये हालसम्म २ लाख ४ हजार ३ सय ५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ।
गत आर्थिक वर्षको यही अवधिसम्म प्रदेशमा ६१.७९ प्रतिशत मात्र धान रोपाइँ भएको थियो। तर यस वर्ष सोही अवधिमा ७३.९४ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ, जुन गत वर्षको तुलनामा करिब १२ प्रतिशतले बढी हो।
अधिकारीका अनुसार गत वर्ष समयमा पर्याप्त वर्षा नहुँदा धान रोपाइँ प्रभावित भएको थियो। तर यस वर्ष मनसुन सुरु भएदेखि नै नियमित वर्षा भएकाले किसानहरूलाई रोपाइँ गर्न सहज भएको छ। असार लागेसँगै किसानहरू खेतमा व्यस्त भएर धान रोपाइँ गरिरहेका छन्।
उनले धान उत्पादनका लागि पानीसँगै रासायनिक मल पनि उत्तिकै आवश्यक हुने बताए। किसानले समयमै मल प्राप्त गरी खेतमा प्रयोग गर्न सके उत्पादनसमेत राम्रो हुने उनको भनाइ छ।
अधिकारीका अनुसार संघीय सरकारबाट उपलब्ध गराइएको पुरानो मौज्दातको मल हालसम्म वितरण गरिएको छ। साथै बिहीबारदेखि चालु आर्थिक वर्षका लागि आयात गरिएको नयाँ मल प्रदेशमा भित्रिन थालेको छ। सरकारले यस वर्ष मलको आपूर्तिलाई प्राथमिकतामा राखेकाले किसानलाई आवश्यक मल समयमै उपलब्ध गराउने तयारी भइरहेको उनले बताए।
मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा प्रदेशभर ५९ हजार ९ सय ८८ मेट्रिक टन युरिया, ४२ हजार ७ सय ६४ मेट्रिक टन डीएपी र ५ हजार १ सय ६ मेट्रिक टन पोटास वितरण गरिएको थियो। यस वर्षका लागि ल्याइएका नयाँ मलसमेत क्रमिक रूपमा वितरण गरिने मन्त्रालयले जनाएको छ।
कृषि अधिकारीहरूका अनुसार समयमै भएको वर्षा, बढ्दो रोपाइँ र मलको सहज उपलब्धताले यस वर्ष कोशी प्रदेशमा धान उत्पादनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।