विराटनगर । मोरङ प्रहरीले एक बालिकामाथि जबरजस्ती करणी तथा सामूहिक जबरजस्ती करणी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार साउन ३ गते बिहान करिब ९ बजे मोरङको सुनवर्षी नगरपालिका निवासी एक बालिकालाई सिटी चालक रंगेली नगरपालिका–३ का १८ वर्षीय मोहम्मद अरमानले ललाइफकाई रंगेली नगरपालिका–७ स्थित युमी क्याफेमा लगी विभिन्न प्रलोभनमा पारी जबरजस्ती करणी गरेको आरोप छ। त्यसपछि सोही क्याफेका सञ्चालक सुनवर्षी नगरपालिका–९ का २१ वर्षीय सुमन कुमार साहले समेत बालिकामाथि जबरजस्ती करणी गरेको आरोप लागेको प्रहरीले जनाएको छ।
त्यसैगरी साउन ४ गते राति करिब ९ बजे रंगेली नगरपालिका–७ का २० वर्षीय करण मण्डलले पीडितलाई रंगेली–७ स्थित संसारी मन्दिर नजिक रहेको ‘द ९०स क्याफे’मा लगी रंगेली–७ का १८ वर्षीय प्रियान्सु साह र रंगेली–६ का १८ वर्षीय रितिक यादवसँग मिलेर सामूहिक जबरजस्ती करणी गरेको उजुरी परेको प्रहरीले जनाएको छ।
उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको संयुक्त प्रहरी टोलीले साउन १० गते अपराह्न ४ : १० बजे घटनामा संलग्न रहेको आरोपमा पाँचै जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा रंगेली नगरपालिका–३ का मोहम्मद अरमान, सुनवर्षी नगरपालिका–९ का सुमन कुमार साह, रंगेली नगरपालिका–७ का करण मण्डल, रंगेली नगरपालिका–७ का प्रियान्सु साह र रंगेली नगरपालिका–६ का रितिक यादव रहेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।