विराटनगर। मोरङ स्पोर्टिङ क्लब र मोरङ जिल्ला भेट्रान टेबल टेनिस क्लबको संयुक्त आयोजनामा "एमएससी युथ टेबल टेनिस प्रतियोगिता–२०८३" सहिद मैदानस्थित पूर्व टेबल टेनिस हलमा भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा क्याडेट ब्वाइज, क्याडेट गर्ल्स, सब जुनियर ब्वाइज, सब जुनियर गर्ल्स, जुनियर ब्वाइज, जुनियर गर्ल्स, भेट्रान सिङ्गल्स र मेन्स ओपन गरी कूल ८ वटा विधामा खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगिताको क्याडेट गर्ल्स सिङ्गल्स (कक्षा ५ सम्म) तर्फ श्री श्री रविशंकर स्कुलकी रुबी सिंह प्रथम र डिएभी स्कुलकी आरोही साह द्वितीय भए। पिटर प्यान स्कुलका आरवी दुगड र तक्ष्वी धनावत संयुक्त रूपमा तृतीय बने। यस्तै क्याडेट ब्वाइज सिङ्गल्स तर्फ पिटर प्यान प्ले पेन स्कुलका नीर जंग थापा प्रथम र बुढानिलकण्ठ स्कुलका आभाष लामिछाने द्वितीय हुँदा एभरेष्ट स्कुलका रेयान्स मेहता र श्री श्री रविशंकर स्कुलका रुद्रान्स सुलभ सापकोटा संयुक्त रूपमा तृतीय भए। सब जुनियर गर्ल्स (कक्षा ६–७) तर्फ श्री श्री रविशंकर स्कुलकी प्राप्ति सेढाइ प्रथम, बिकेभिएम स्कुलकी रोशिका घिमिरे द्वितीय तथा एभरेष्ट स्कुलकी रोनी सापकोटा र डिएभी स्कुलकी नित्या कर्ण संयुक्त रूपमा तृतीय भए। सब जुनियर ब्वाइज तर्फ डिपिएस विराटनगरका आदर्श गुप्ता प्रथम, जनता नमुना माविका रक्ष बुढा द्वितीय तथा लिलिपुट स्कुलका अध्ययन कोइराला र सगरमाथा स्कुलका आरोन श्रेष्ठ संयुक्त रूपमा तृतीय बने। जुनियर गर्ल्स (कक्षा ८–१०)तर्फ श्री श्री रविशंकर स्कुलकी स्वस्तिका चौधरी प्रथम, एभरेष्ट स्कुलकी आशना कट्वाल द्वितीय र बुढानिलकण्ठ स्कुलकी मानसी तामाङ एवम् आकृति मगर संयुक्त रूपमा तृतीय भए। त्यस्तै जुनियर ब्वाइज तर्फ लिलिपुट स्कुलका श्रीजल प्याकुरेल प्रथम, मार्टर्स मेमोरियल स्कुलका सक्षम बस्नेत द्वितीय तथा श्री श्री रविशंकर स्कुलका पीयूष यादव र बुढानिलकण्ठ स्कुलका आयान श्रेष्ठ संयुक्त रूपमा तृतीय बने।
यसैगरी भेट्रान्स सिङ्गल्स तर्फ सरोज पौडेल प्रथम, राजकुमार प्रधान द्वितीय तथा विशाल केडिया र उपकार श्रेष्ठ संयुक्त रूपमा तृतीय भए। मेन्स ओपन तर्फ एभरेष्ट कलेजमा अध्ययनरत विराटनगरका सुशान्त मेहता प्रथम, विराटनगरकै सन्तोष काफ्ले द्वितीय तथा धरानका गौतम तामाङ र विराटनगरका राहुल साह संयुक्त रूपमा तृतीय स्थान हासिल गर्न सफल भए। विजयी खेलाडीहरूलाई समापन समारोहका प्रमुख अतिथि विराटनगर वडा नं. ११ का वडा अध्यक्ष तीर्थेन्द्र न्यौपाने, कोशी प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष सन्तोषी श्रेष्ठ, अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष अनुज बानिया, पूर्व वरिष्ठ टेबल टेनिस प्रशिक्षक ध्रुव क्षेत्री, मोरङ जिल्ला टेबल टेनिस संघका अध्यक्ष बिकेन थापा, उपाध्यक्ष गौरी क्षेत्री, मोरङ स्पोर्टिङ क्लबका अध्यक्ष विशाल न्यौपाने तथा प्रतियोगिता संयोजक चन्दन ठाकुरले संयुक्त रूपमा पुरस्कार तथा प्रमाण-पत्र वितरण गर्नुभएको थियो।