विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सद्भाव, सहिष्णुता र आपसी सम्मान कायम राख्न आग्रह गर्दै मंगलबार बिहान दुहवीमा सद्भाव र्याली निकालिएको छ।
दुहवी क्षेत्रका विभिन्न सामाजिक तथा सामुदायिक संस्थाका प्रतिनिधि, अगुवा र स्थानीयवासीको सहभागितामा निकालिएको र्यालीले दुहवी बजार परिक्रमा गरेको थियो।
सोमबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सर्वपक्षीय भेलाले सामाजिक सद्भाव कायम राख्न गरेको अपिलअनुसार र्याली आयोजना गरिएको सहभागीहरूले बताएका छन्। र्यालीका क्रममा सहभागीहरूले देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेका थिए। साथै, भविष्यमा यस्ता हिंसात्मक घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था, सामाजिक सचेतना र समुदायबीच आपसी विश्वास तथा सद्भाव कायम गर्न आवश्यक पहल गर्न सरकारसँग आग्रह गरिएको थियो।
सहभागीहरूले शान्ति, सहिष्णुता र सामाजिक एकतामार्फत मात्रै समाजमा स्थायी सद्भाव कायम हुन सक्ने भन्दै कुनै पनि अफवाह वा उत्तेजनामा नलाग्न सर्वसाधारणलाई अपिलसमेत गरेका छन्।