सुनसरीको देवानगन्जमा साँझबाट दोहोरो झडप

<span class='c1'>सुनसरीको देवानगन्जमा साँझबाट</span> <span class='c2'>दोहोरो झडप</span>

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, देवानगञ्ज बजारमा मंगलबार साँझ दुई समुदायबीच पुनः झडप भएपछि अवस्था तनावग्रस्त बनेको छ। झडपका कारण बजार क्षेत्रमा आगजनी, ढुंगामुढा र तोडफोडका घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार साँझ करिब ७ बजेदेखि सुरु भएको झडपमा दुवै पक्षका समूह आमनेसामने भएका थिए। झडपका क्रममा केही व्यक्तिले रड, लाठी तथा अन्य घरेलु हतियार प्रयोग गरेको प्रारम्भिक जानकारी आएको छ। घटनापछि स्थानीयवासी त्रसित बनेका छन् भने बजार क्षेत्रमा भागदौड मच्चिएको थियो।

सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले दुई समुदायबीच झडप भएको पुष्टि गर्दै स्थिति नियन्त्रणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको अतिरिक्त टोली परिचालन गरिएको बताए।

उनका अनुसार साँझको समय र ठूलो भीडका कारण सुरक्षाकर्मीलाई अवस्था नियन्त्रणमा लिन कठिनाइ भइरहेको छ। घटनास्थलको सुरक्षा अवस्था मूल्याङ्कन गर्दै थप सुरक्षा व्यवस्था मिलाइएको उनले जानकारी दिए।

प्रहरीका अनुसार झडपसँगै देवानगञ्ज बजार र घुस्की क्षेत्रमा केही स्थानमा आगजनी भएको सूचना प्राप्त भएको छ। यद्यपि, क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

यसअघि मंगलबार दिउँसो पनि देवानगञ्ज–३, कप्तानगञ्ज क्षेत्रमा केही घरमा आगजनी भएको थियो। त्यसपछि सुरक्षा निकायका उच्च अधिकारीहरूले घटनास्थलको निरीक्षण गर्दै स्थानीय समुदायका अगुवासँग छलफल गरी शान्ति कायम गर्न आग्रह गरेका थिए। निरीक्षणपछि केही समय अवस्था सामान्य देखिए पनि साँझ पुनः तनाव बढेको हो।

देवानगञ्ज र हरिनगर क्षेत्रमा नेपाली सेनाले हवाई निगरानीसमेत गरेको थियो भने स्थलमा सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। घाइते तथा क्षतिको आधिकारिक विवरण भने सार्वजनिक भइसकेको छैन।

प्रशासनले स्थानीयलाई अफवाहमा नलाग्न, संयम अपनाउन तथा शान्ति–सुरक्षा कायम गर्न सुरक्षा निकायलाई सहयोग गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्