सुनसरीका ९ स्थानीय तहमा कर्फ्यु विस्तार

<span class='c1'>सुनसरीका ९ स्थानीय</span> <span class='c2'>तहमा कर्फ्यु विस्तार</span>

विराटनगर । सुरक्षा अवस्था थप संवेदनशील बनेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। मंगलबार राति ८ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु लागू गरिएको प्रशासनले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यु आदेश जारी गरेका हुन्। प्रशासनका अनुसार सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि सम्भावित अप्रिय गतिविधि रोक्न, शान्ति–सुरक्षा कायम गर्न तथा सामाजिक सद्भाव जोगाउन कर्फ्यु लागू गरिएको हो।

कर्फ्यु अवधिमा तोकिएका क्षेत्रमा सर्वसाधारणको आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा अन्य सार्वजनिक गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको छ। प्रशासनले आदेश उल्लंघन गर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार कर्फ्यु इटहरी उपमहानगरपालिका–१६ र १७ मा पर्ने महेन्द्र राजमार्गको दायाँ–बायाँ २०० मिटर क्षेत्र, रामधुनी नगरपालिका–१ र ५ अन्तर्गतको महेन्द्र राजमार्ग आसपासको क्षेत्र तथा इनरुवा नगरपालिका, दुहबी नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, गढी गाउँपालिका, देवानगञ्ज गाउँपालिका, हरिनगर गाउँपालिका र बर्जु गाउँपालिका लगायतका क्षेत्रमा लागू गरिएको छ।

प्रशासनले सुरक्षा निकायलाई कर्फ्यु आदेश प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। साथै स्थानीय बासिन्दालाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, अफवाह तथा भ्रामक सूचनाको पछि नलाग्न र सुरक्षा निकायले जारी गरेका निर्देशनको पालना गर्न आग्रह गरेको छ।

यसअघि मंगलबार साँझ देवानगञ्ज बजारमा दुई समुदायबीच पुनः भीषण झडप भएको थियो। झडपका क्रममा आगजनी, ढुंगामुढा तथा तोडफोडका घटना भएको प्रारम्भिक जानकारी आएको छ। त्यसपछि सुरक्षा अवस्था थप जटिल बनेसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरिएको छ।

सुरक्षा निकायले देवानगञ्ज तथा आसपासका क्षेत्रमा अवस्था नियन्त्रणमा लिने प्रयास जारी राखेको जनाएको छ। घटनाबाट भएको क्षति तथा सम्भावित मानवीय हताहतको आधिकारिक विवरण भने सार्वजनिक भइसकेको छैन।

जिल्ला प्रशासन कार्यालयले परिस्थितिको निरन्तर अनुगमन भइरहेको जनाउँदै अवस्था सामान्य बन्दै गएपछि कर्फ्युसम्बन्धी थप निर्णय सार्वजनिक गरिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्