काठमाडौं । संसदीय सुनुवाइ समिति (संयुक्त) ले प्रमुख निर्वाचन आयुक्त पदका लागि प्रस्तावित मानबहादुर कार्कीको संसदीय सुनुवाइ गरेको छ ।
सुनुवाइका क्रममा प्रस्तावित कार्कीले आफ्नो शैक्षिक तथा व्यावसायिक अनुभव प्रस्तुत गर्दै निर्वाचन आयोगको स्वतन्त्रता, निष्पक्षता र विश्वसनीयता लोकतन्त्रका लागि अपरिहार्य रहेको बताएका छन् । उनले आफूले राजनीतिशास्त्रमा स्नातकोत्तर (एमए) तथा कानुनमा एलएलएम गरेको जानकारी दिँदै पूर्वाञ्चल ग्रामीण विकास बैंकबाट जागिरे जीवन सुरु गरेको उल्लेख गरे । उक्त संस्था हाल मर्ज भई लघुवित्त संस्थामा रूपान्तरण भइसकेको उनले बताए । कार्कीले २०५२ सालमा निजामती सेवामा प्रवेश गरी २०६३ सालसम्म राजपत्राङ्कित तृतीय श्रेणी अधिकृतका रूपमा सेवा गरेको जानकारी दिए । निर्वाचन व्यवस्थापनको अनुभवबारे उनले २०५४ सालको स्थानीय तह निर्वाचनमा गाविस स्तरमा निर्वाचन अधिकृतको जिम्मेवारी निर्वाह गरेको बताए । उनले भने, ‘मैले राजनीतिशास्त्र (पोलिटिकल साइन्स) मा एमए र कानुनमा एलएलएमको स्नातकोत्तर गरेको छु। अनुभवको रूपमा मैले पहिले पूर्वाञ्चल ग्रामीण विकास बैंक भन्ने संस्थाबाट जागिरे जीवन सुरु गरेको हुँ। अहिले उक्त संस्था मर्ज भएर लघुवित्त बनेको छ। त्यसपछि २०५२ सालमा निजामती सेवामा प्रवेश गरी २०६३ सालसम्म राजपत्राङ्कित तृतीय श्रेणी अधिकृतका रूपमा काम गरेँ। निर्वाचनको सन्दर्भमा भन्नुपर्दा, मैले २०५४ सालको स्थानीय तह निर्वाचनमा निर्वाचन अधिकृतका रूपमा गाविसको निर्वाचन गराएको अनुभव छ ।’
उनले निर्वाचनलाई लोकतन्त्रको ऐना भन्दै स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न गराउनु निर्वाचन आयोगको प्रमुख दायित्व भएको उल्लेख गरे । उनले भने, ‘मूलतः निर्वाचनकै सन्दर्भमा कुरा गर्दा निर्वाचन भनेको प्रजातन्त्रको आँखा अथवा ऐनाको रूपमा बुझिँदो रहेछ । निर्वाचन आयोगको स्वतन्त्रता र स्वायत्तता अनिवार्य छ । विधिको शासन हुनुपर्दछ । नागरिकका मौलिक अधिकार र व्यक्तिको स्वतन्त्रताहरू पनि जगेर्ना गर्नुपर्ने र प्रवद्र्धन गर्नुपर्ने हुन्छ ।’ निर्वाचन आयोगको स्वतन्त्रता र स्वायत्तता सुनिश्चित हुनुपर्नेमा जोड दिँदै उनले विधिको शासन, नागरिकका मौलिक अधिकार तथा व्यक्तिगत स्वतन्त्रताको संरक्षण र प्रवद्र्धन आवश्यक रहेको बताए । कार्कीले आयोगले निष्पक्षता, पारदर्शिता, स्वतन्त्रता, स्वायत्तता, जवाफदेहिता, विश्वसनीयता, प्रभावकारिता, पूर्वसक्रियता, व्यावसायिकता, सेवामुखीपन, निष्ठा र सक्षमतालाई आफ्नो कार्यसम्पादनका मूल आधारका रूपमा आत्मसात् गर्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । उनले भने, ‘यस सन्दर्भमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन गराउनु महत्वपूर्ण भूमिका भएकाले त्यही कार्य गर्नका लागि निर्वाचन आयोगले यही मान्यता बोकेको छ । निष्पक्षता र पारदर्शिता, स्वतन्त्रता र स्वायत्तता, जवाफदेहिता र विश्वसनीयता, प्रभावकारिता र पूर्वक्रियाशीलता, व्यावसायिकता र सेवामुखीपन लगायत निष्ठा र सक्षमता जस्ता मान्यताहरूलाई जगेर्ना गर्नु मुख्य दायित्व हो। यी मान्यताभित्र रहेर हाम्रा काम कारबाहीहरू अगाडि बढ्नुपर्छ ।’