विराटनगर । गत आइतबार साउन १० गते मध्यरातिदेखि अशान्त सुनसरीको बाछिटा क्रमशः अन्य जिल्लामा समेत पर्दै गइरहेको छ । देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटना साम्य पार्न तीन तहका सरकारलाई हम्बे परिरहेको छ । घटनाको जन्म, क्षति र फैलावटका कारण के–के हुन् भन्ने यकिन गर्नका लागि गृहमन्त्रालयका सहसचिव भूपेन्द्र थापा नेतृत्वको पाँच सदस्यीय छानबिन समिति अहिले सुनसरीमै छ ।
केन्द्रीय सुरक्षा समिति र सुरक्षा निकायले घटनाको विश्लेषणपछि साझा धारणा बनाएका छन् । जसमा सुरक्षाको हिसाबले फौजी ढंगबाट नभई सरकार र दलहरुले राजनीतिक, सामाजिक र धार्मिक सद्भाव पुर्नस्थापित गराएर समाधान खोज्नुपर्ने निष्कर्ष निकालिएको छ ।
देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीच भएको विवादपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले चलाएको गोलीबाट कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको आइतबार राति मृत्यु भएको भनिदै आएको छ । घटनामा २२ जना घाइते भएका थिए । त्यसमध्ये गोली लागेका नौजनाको उपचारतः छन् ।
गृहमन्त्रालयद्वारा गठित छानबिन समिति स्थलगत रुपमा घटना बारे अध्ययन गरिरहेको बेला घटनालाई नेपाल प्रहरीले समेत सुक्ष्म अनुसन्धान र विश्लेषण गरिरहेको छ । नेपाल प्रहरीले घटनामा चर्को आवाजको डिजे बजाउनु वा मोहरममा गाडेको झण्डा उखेलिनुलाई मात्रै कारण मान्न नसकिने निष्कर्ष नजिक पुगेको बताएको छ । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डिआईजी) एवं प्रहरी प्रधानकार्यालयका प्रवक्ता अबिनारायण काफ्लेका अनुसार अपराध अनुसन्धान गर्ने कार्यमा प्रहरी निरन्तर लागिरहेको जानकारी दिएका छन् । उनले जुनसुकै तहतप्काको संलग्नता भएपनि घटनाको अनुसन्धानबाट खुल्न आएका व्यक्ति तथा समूहमाथि प्रहरीले कुनै न कुनै रुपले कानुनी दायरा खोज्नेछ । प्रहरीले कप्तानगञ्ज घटनालाई धार्मिक मनोभावका रुपमा मात्रै नभएको भन्दै सुक्ष्म अनुसन्धान गरिरहेको हो । जसका कारणमा प्रहरीका आफ्ना स्पष्ट खाकाहरु तयार पारिएको दावी छ ।
सामान्य विवादलाई मध्यरातमै उक्साउनका लागि खुल्ला सीमानाकाबाट अवैध कारोबार गर्नेहरुले भूमिका खेलेको प्रहरीको आशंका छ । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा पछिल्लो समय गरिरहेको कडाईलाई दुई समुदायबीचको विवादमा गिजोलिएको हुनसक्ने बुझाई रहेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी नै घटनास्थलमा रहेका बखत सशस्त्र प्रहरीतर्फ भीड केन्द्रीत गरिनुलाई यसको एउटा आधार हुनसक्ने रुपमा लिइएको हो । भीड उक्साएर सीमा क्षेत्रमा परिचालित सुरक्षा निकायको मनोबल र उपस्थिति कमजोर बनाउँदा चाडपर्व केन्द्रीत तस्करी गर्नसक्ने मनोविज्ञान कहिं न कहिं हावी भएको हुनसक्ने अनुमान गरिएको छ । तराईको खुल्ला सीमा क्षेत्रबाट भारत जाने गाँजादेखि भारतबाट तस्करी गरेर सामान भित्र्याउनेहरु समेत यो भीडमा रमाउन खोजिरहेको खुलेको छ ।
प्रवक्ता काफ्लेका अनुसार त्यस बाहेक सुनसरीको घटनामा धार्मिक अन्तरद्वन्द्व फैलाउने किसिमका विभिन्न सामाग्री सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा प्रकाशन र प्रशारणमा उक्साउने अर्को समूह रहेको छ । जसका लागि प्रहरीको केन्द्रीय कार्यालयको आइटी विभागले अनुसन्धानको काम गरिरहेको छ । यस्तो भिडियो र फोटोहरु हाल्नका लागि राजावादी र धार्मिक अतिवादीहरुको सक्रियता देखिएको छ । जसले सामाजिक अवस्थामा विस्तारै खलल् पु¥याउँदै दुईतिहाई सरकारलाई कमजोर सावित गर्दा त्यसबाट लिनसक्ने लाभको हिसाब खोजिरहेको हुनसक्ने देखिन्छ ।
यसैगरी सुनसरी र खासगरी देवानगञ्जमा शरणार्थीहरुलाई प्रवेश गराएर उनीहरुमाथि सहयोग लगानी गर्ने समूह समेत यो घटनालाई उचाल्ल लागेको हुनसक्ने अनुमान गरिएको छ । लामो समयदेखि रोहिङ्याको प्रवेश आशंका गर्दै सीमा क्षेत्रका कतिपय स्थानमा शरण लिइरहेको हुनसक्ने अनुमान गरिदैं आएको थियो । सामान्य विवादलाई दुवैतर्फबाट उक्साएकै कारण यसको समाधानमा सुरक्षा संयन्त्र परिचालनले मात्रै नपुगेको बुझाई रहेको छ । केहिदिन अगाडी मात्रै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले विभिन्न देशबाट प्रवेश पाएका शरणार्थीहरु शान्तिका लागि कतिपय अवस्थामा चुनौती हुनसक्ने धारणा समेत राखेका थिए ।
प्रहरीका प्रवक्ता काफ्लेले कानुनी कारवाहीको दायरामा ल्याउन सक्ने अवस्थासम्मका गतिविधिमा संलग्नलाई छानबिन समितिको प्रतिवेदनका आधारमा नियन्त्रण गरिने बताएका छन् । त्यस बाहेक विवादलाई चर्काएर भीडमा खेल्नेहरुको समेत रेकर्ड जनिने गरी विवरण राखिनेछ । यस्ता व्यक्तिहरुका लागि कुनै न कुनै दिन चालचलनको सर्टिफिकेट जारी गर्दा प्रहरीले त्यहाँबाट करेक्सन गराउने तयारी गरिरहेको छ । सामाजिक सञ्जाल र सञ्चारमाध्यमका नामबाट भइरहेका गतिविधिका विषयमा समेत प्रहरीले आफ्नोतर्फबाट नियमन गरेर आवश्यकता अनुसार कारवाहीको प्रक्रियामा जाने तयारी गरिरहेको छ ।