विराटनगर। मोरङको सुन्दरहरैँचा नगरपालिका–१०, मुनालबाट प्रहरीले भरुवा बन्दुक र लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुधबार राति करिब १०ः३० बजे लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले स्थानीय ५६ वर्षीय बलबहादुर राईको घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा घरको भान्सा कोठाभित्र लुकाइ राखिएको एक थान भरुवा बन्दुक तथा घर नजिकै रहेको गोठमा लुकाइ राखिएको १.५ किलोग्राम लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
बरामद गरिएको भरुवा बन्दुक र गाँजासहित राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ। घटनाका सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनुका साथै थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।