सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीले सामाजिक सञ्जालमार्फत भ्रामक तथा झुटा सूचना प्रसारण गरेको आरोपमा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ।
प्रहरीका अनुसार फेसबुकमा मुकेश कुमार यादव समर्थक नामको प्रोफाइलमार्फत सार्वजनिक शान्ति, सुरक्षा तथा सामाजिक सद्भावमा प्रतिकूल असर पर्ने प्रकृतिका भ्रामक भिडियो तथा समाचार प्रकाशित र प्रसारण गरिएको भन्ने सूचनापछि अनुसन्धान अघि बढाइएको थियो।
अनुसन्धानका क्रममा उक्त फेसबुक आईडी सञ्चालन गर्ने व्यक्ति सर्लाहीको धनकौल गाउँपालिका–२ का करिब ३० वर्षीय प्रवेश राय यादव रहेको खुलेको प्रहरीले जनाएको छ। उनलाई प्रयोगमा रहेको मोबाइलसहित नियन्त्रणमा लिएर सोधपुछ गरिएको प्रहरीले उल्लेख गरेको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनले उक्त भ्रामक भिडियो आफ्नै फेसबुक आईडीबाट प्रसारण गरेको स्वीकार गरेको र सामाजिक सञ्जालमार्फत झुटा तथा भ्रामक सामग्री फैलाएर सर्वसाधारणमा भ्रम सिर्जना गर्दै सार्वजनिक शान्ति, सुरक्षा र सुव्यवस्थामा असर पुर्याएको देखिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले उनीमाथि विद्युतीय कारोबार सम्बन्धी कसुर अन्तर्गत पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाएको छ।