विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकाण्डमा ज्यान गुमाएका दुई जनाको शव कोशी अस्पतालमा पोस्टमार्टम गरेपछि विराटनगरमा नगरपरिक्रमा गरिएको छ ।
सरकार र पीडित परिवारबीच शनिबार बिहान ७ बुँदे सहमति भएपछि मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव आफन्तलाई जिम्मा लगाइएको हो। विराटनगर–१० स्थित न्यूरो अस्पतालको शवगृहबाट निकालिएका दुवै शव कोशी अस्पतालमा पोस्टमार्टम गरिएपछि श्रद्धाञ्जलीस्वरूप विराटनगरमा नगरपरिक्रमा गरिएको थियो।
नगरपरिक्रमा सम्पन्न भएपछि शवयात्रासहित दुवै शव सुनसरीको देवानगञ्ज लगिएको छ। मृतकका आफन्तका अनुसार शवलाई घर पुर्याएर हिन्दू परम्पराअनुसार आजै दाहसंस्कार गरी अन्त्येष्टि गरिनेछ।

गत आइतबार राति देवानगञ्ज–३ मा दुई समुदायबीच विवाद चर्किएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। गोली लागेर स्थानीय ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएका जयप्रकाश मेहताको उपचारका क्रममा विहीबार मृत्यु भएको थियो।
घटनापछि स्थानीयवासीले न्यायको माग गर्दै आन्दोलन गरेका थिए। त्यसपछि सरकार र पीडित पक्षबीच भएको वार्ताबाट ७ बुँदे सहमति भएपछि शव बुझ्ने र अन्त्येष्टि गर्ने सहमति जुटेको हो।
सहमतिसँगै देवानगञ्जको अवस्था क्रमशः सामान्य बन्दै गएको प्रशासनले जनाएको छ भने सुरक्षा व्यवस्था भने यथावत् कडा पारिएको छ।