सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले फेसबुक लाइभमार्फत भ्रामक तथा झुटो सूचना फैलाउने एक युवकको दाबी पूर्ण रूपमा निराधार रहेको स्पष्ट पार्दै सामाजिक सञ्जालमा अपुष्ट सूचना नफैलाउन सबैलाई आग्रह गरेको छ।
प्रहरीका अनुसार सिरहा नगरपालिका–१२ सारस्वरका मोहम्मद नैयुम राईनले शुक्रबार साँझ करिब ९:३० बजे फेसबुक लाइभ गर्दै "मेरो गाउँमा प्रवेश गरिसक्यो, सीडीओ र एसपीको फोन रिसिभ भएन" भन्ने आशयको अभिव्यक्ति सार्वजनिक गरेका थिए। उक्त भिडियो सामाजिक सञ्जालमा फैलिन थालेपछि प्रहरी तत्काल घटनास्थलमा पुगेको थियो।
जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ कि घटनास्थलमा पुगेर गरिएको अनुगमन तथा निरीक्षणका क्रममा कुनै पनि प्रकारको अवाञ्छित गतिविधि वा सुरक्षा चुनौती नरहेको पाइएको छ। युवकले सार्वजनिक गरेको सूचना तथ्यहीन र भ्रामक रहेको प्रहरीको निष्कर्ष छ।

प्रहरीका अनुसार आफ्नो गल्ती महसुस गरेका ती युवकले फेसबुकबाट लाइभ भिडियो हटाइसकेका छन्। साथै उनले अर्को भिडियो सार्वजनिक गर्दै आफूबाट भएको त्रुटिप्रति माफी समेत मागेका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाले सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार बन्न आग्रह गर्दै अपुष्ट, झुटो तथा सामाजिक सद्भाव, शान्ति सुरक्षा र सार्वजनिक व्यवस्थामा प्रतिकूल असर पार्ने सामग्री प्रचार–प्रसार नगर्न सबैमा अनुरोध गरेको छ।