विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित विराट मेडिकल कलेज टिचिङ अस्पताल अगाडिको सडक क्षेत्रमा बढ्दो अव्यवस्थित पार्किङ, फुटपाथ अतिक्रमण तथा प्रभावकारी ट्राफिक व्यवस्थापनको अभावका कारण सडक दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै स्थानीय राजसती टोल विकास समितिले जिल्ला प्रशासन कार्यालय मोरङको ध्यानाकर्षण गराएको छ।
समितिले सहायक जिल्ला अधिकारी सरोज कोईरालालाई बुझाएको ज्ञापनपत्रमा अस्पताल अगाडिको सडकमा जथाभावी सवारी पार्किङ, फुटपाथ अतिक्रमण र ट्राफिक व्यवस्थापन कमजोर हुँदा बिरामी, पैदलयात्री, विद्यार्थी तथा सर्वसाधारण दैनिक जोखिम मोलेर आवतजावत गर्न बाध्य भएको उल्लेख गरिएको छ।

ज्ञापनपत्रअनुसार यसअघि पनि बुढीगंगा गाउँपालिकालाई गंगाचोकमा ट्राफिक लाइट जडान, अव्यवस्थित पार्किङ नियन्त्रण तथा फुटपाथ खाली गराउने मागसहित २०८३ असार ३ गते निवेदन दिइएको थियो। तर हालसम्म प्रभावकारी कार्यान्वयन नभएको भन्दै दुर्घटनाको जोखिम झन् बढेको समितिको भनाइ छ।
टोल विकास समितिले गंगाचोकमा तत्काल ट्राफिक लाइट जडान गर्न, अस्पताल अगाडिको पार्किङ व्यवस्थित बनाउन, फुटपाथ अतिक्रमण हटाउन तथा नियमित ट्राफिक प्रहरी परिचालन गरी सडक सुरक्षा सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालयसँग माग गरेको छ।
स्थानीयवासीले अस्पतालजस्तो अत्यधिक भीडभाड हुने क्षेत्रमा समयमै प्रभावकारी ट्राफिक व्यवस्थापन नगरे थप दुर्घटना हुन सक्ने भन्दै सम्बन्धित निकायलाई शीघ्र आवश्यक कदम चाल्न आग्रह गरेका छन्।